”नयाँ क्याम्पस प्रमुखलाई खोसिएको QAA मान्यतालाई फर्काउनु र दर्जनौ मुद्धाहरु टुग्यांउनु नै फलामको च्युरा चपाउनु सरह हुनेछ भने राजनीतिक हस्तक्षेपले धुरुधुरु रुनुपर्ने त कहि कतै छिपेको छैन ।”
तनहूँ । तनहूँ दमौली बजार पारि भाँदगाउँको पुछार चलनचल्तीको भाषामा भन्नुपर्दा मसानघाटको शिरमा रहेको आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको आदिकवि भानुभक्त क्याम्पस बाहिरबाट देख्दा जति सुन्दर र शान्त छ भित्र भित्र त्यति नै जिर्ण र राजनीतिक पार्टीको क्रिडास्थल भईरहेको छ । यहाँ हुने राजनीतिक हस्तक्षेपले बिद्यार्थीहरुलाई चर्को शुल्क तिरेर पढ्न त बाध्य बनाएको छ भने राजनीतिक पहुँच हुनेहरुको लागि कमाई खाने भाँडो पनि भएको छ ।
दमौलीको आदिकवि भानुभक्त क्याम्पस नै नेपालको पहिलो क्याम्पस हुनुपर्छ कुनै समयमा सरकारी क्याम्पस बनाऔ भन्दा सिमित व्यक्तिहरुले आफ्नो लाभ हानी हेरेर क्याम्पसलाई सरकारी बनाउनै नदिई कहिले महायज्ञ त कहिले ऋणको भारि बोकाएर चलाईएको छ । आज क्याम्पसको गेटबाट भित्र छिरियो भने नेपालको शान भनेर प्रचार गरिने क्याम्पसले QAA मान्यता प्राप्तलाई ५/५ बर्षसम्म नविकरण गर्न नसक्दा उक्त स्तम्भ छोपेर राख्नुपरेको छ भने बोर्डबाट पनि QAA मान्यता प्राप्तलाई मेट्नु परेको छ । त्यतिमात्र हो र छापिसकिएको लेटरप्याडबाट QAA मान्यता प्राप्त मेट्नु कम लज्जास्पद रहेको छैन ।
अर्कोतर्फ शिक्षाको पवित्र मन्दिरमा भएका अनियमितता, भ्रष्टाचारका बारेमा अख्तियारमा उजूरीका चांगहरु परेका छन् । आदिकवि क्याम्पसले बेथितिको यति ठुलो नमुना पेश गरिरहेको छ कि हालसालै स्कुलहरु पनि अध्यापन गराउने र आफ्नो राजनीतिक पहुँचका आधारमा उक्त कलेजमा पनि तलब भत्ता खाने ८ जना पुर्णकालिन शिक्षकहरुले राजिनामा दिनुपरेको छ । भाँडभैलो गर्न पाईने लोभमा सिमित व्यक्तिहरुको चाकडि गरि क्याम्पस छिर्ने खोज्नेहरुको समुह जताततै तम्तयार भईरहेको देख्न पाईन्छ । राजनीतिक पहुँचको फाईदा उठाउदै दोहोरो सेवा सुविधा प्राप्त गर्न नमिल्ने व्यक्तिहरु पनि महत्वपुर्ण पदमा विराजमान गराउने, आकर्षक तलबभत्ता उपलब्ध गराउने गरेर कलेजलाई अझै आर्थिकरुपमा खोक्रो पार्न लागिएको त घाम जत्तिकै छर्लगं छ । निवर्तमान् कार्यसमितिले आर्थिक रुपमा केहि सवल बनाएको क्याम्पसलाई पुनः पुरानै लयमा फर्काउनको लागि आवश्यकता नै नहेरि महिनाको २/२ पटक कर्मचारीहरुको माग गर्ने गरिएको छ ।
विकास प्रस्ताव माग गरि विकास प्रस्तावको आधारमा क्याम्पस प्रमुख नियुक्त गर्ने चर्चा चलेपछि धेरैको शैक्षिक बिकासका लागि आदिकवि भानुभक्त क्याम्पस प्रमुखको रुपमा बैदेशिक रोजगार वोर्डका पुर्व निर्देशक, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष एवं उक्त क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख डा. रघुराज काफ्ले आईदिए हुन्थ्यो भन्ने चाहना हुदाहुदै पनि डा. काफ्ले अप्रत्यासित रुपमा आफुलाई क्याम्पस प्रमुखको आकांक्षी बनाउनुभएन । २५ गतेसम्म निवेदन दिन आव्हान गरिएपछि ६ महिना म्याँद थपिनुभएका वर्तमान् क्याम्पस प्रमुख महाप्रसाद हड्खले र पुर्व सहायक क्याम्पस प्रमुख आत्माराम बास्तोलाले मात्र क्याम्पस प्रमुखको लागि बिकास प्रस्ताव पेश गर्नुभएको छ ।
बर्तमान् क्याम्पस प्रमुख महाप्रसाद हड्खले ”आफुले अघिल्ला कार्यकालमा गर्दा अपुरा रहेका योजना पुरा गर्न, आदिकवि क्याम्पसलाई भक्तपुरको ख्वयः ईन्जिनियरिगं कलेजको अवधारणा अनुसार अगाडि बढाउन लागेकोले त्यस्लाई मुर्तरुप दिन र आफ्नो कार्यकालमा विद्यार्थी संख्या ५ हजार पुर्याई आर्थिकरुपमा क्याम्पसलाई बलियो बनाउन आफु पुनः क्याम्पस प्रमुख हुनुपर्छ” भन्नुभएको छ । त्यसैगरि क्याम्पस प्रमुखका अर्का आकांक्षी आत्माराम बास्तोला ”क्याम्पसलाई भौतिकरुपमा बिकास गर्न शैक्षिक हब बनाउन, खोसिएको QAA मान्यता प्राप्त फिर्ता ल्याउन र छनोट गर्दा योग्यता, क्षमता र योगदानको कदर हुन्छ भनेर आफुले क्याम्पस प्रमुख हुने चाहना राखेको” बताउनुभएको छ ।
माथि उल्लेखित व्यक्तिहरु मध्ये जो क्याम्पस प्रमुख भएपनि उहाँको काँधमा ठुलो जिम्मेवारी पर्ने पक्का छ । के कति कारणले महिना दिनमा २। २ पटक कर्मचारी नियुक्तिको गरिने गरिन्छ ? त्यसको जवाफ समाजले माग्नेछ भने शिक्षाको मन्दिरजस्तो पवित्र स्थानमा चलखेल र अनियमितताका दर्जनौ उजुरी किन ? त्यस्तो छानविन गर्ने र झुटो साँचो पत्ता लगाएर दण्डित गर्ने अधिकार अख्तियारको मात्र होईन क्याम्पस प्रमुखको पनि हुनेछ । ५ बर्षसम्म क्याम्पसको शैक्षिकस्तर खस्किएको कारण QAA मान्यता नविकरण गर्न असफल भएको जवाफ पनि अब समाजलाई नदिईकन अब आउने क्याम्पस प्रमुख कुर्सीमा टाँस्सिएर बस्यो भने समाजले कुरीकुरी भनेर जिस्क्याउने छ र अझै क्याम्पसमा छोपिएर QAA मान्यता प्राप्त स्तम्भ, मेटिएको क्याम्पसको बोर्ड, टिपेक्स लगाईएको लेटरप्याढ हेर्न कोहि पनि चाहने छैन ।
क्याम्पसमा देखिएको बेथिति, व्यवस्थापन समितिको पहलमा केहि बर्षमा सुधारउन्मुख क्याम्पसको आर्थिक अवस्थालाई तहन नहश पार्न खोजिएको कारण पनि क्याम्पस प्रमुखको कुर्सीमा बस्न जति आनन्द होला शिक्षित वर्गले जागिर खाने क्याम्पसमा उनीहरुलाई सम्मान प्रदान गर्न, राजनीतिक पार्टीको प्रयोगशाला बन्नबाट रोक्नु पनि क्याम्पस प्रमुखले रोक्नु पहिलो दायित्व हुनेछ र अर्को महत्वपुर्ण कुरा बजारमा ”यो विज्ञापन त देखाउनका लागि मात्र खोलिएको हो म्याच त फिक्स पहिले नै भईसकेको छ” भन्नेहरुलाई जवाफ दिनलाई पनि अब हुने क्याम्पस प्रमुखले निष्पक्ष भएर पानीको लौरो नभईकन विद्यार्थी र क्याम्पसको हितमा काम गर्नुपर्ने प्रतिवद्धता गर्नु जरुरी रहेको छ ।








