तनहूँ । सरकारी अनुगमन र नियम कानुन पालनामा कडाई नगरेका कारण तनहूँमा अधिकांश आयुर्वेदिक औषधी पसल नियम विपरित संचालन भएको भेटिएको छ । बिशेषगरि दमौली बजारक्षेत्रमा संचालन भएका आयुर्वेदिक औषधी पसलहरु मध्ये केहि औषधी पसलहरु नियम कानुनको परिधिभित्र रहेर संचालनमा आएपनि अधिकांश औषधी व्यवसायीहरुले नियम कानुनको हेलचक्र्याई गरेको भेटिएको छ ।
एउटै व्यक्तिले धेरै औषधी पसल संचालन गर्ने, पसल दर्ताको लागि अरु कसैको लाईसेन्स भाडमा लिएर औषधी पसल दर्ता गर्ने, डेट एक्पाएर औषधी बिक्री वितरण गर्ने, बिरामीहरुलई कुनै पनि रोगको ग्यारेन्टीका साथ उपचार गरिन्छ भनेर भ्रम पार्ने, नियम विपरित ठुला ठुला होर्डिगं बोर्ड राख्ने, औषधी पसलको नामै नराखिकन औषधी पसल संचालन गर्ने, सोझा साझा बिरामीलाई आफु नै तालिम प्राप्त डक्टर बताउदै उपचारको बहानामा आर्थिक शोषण गर्ने गरेको पाईएको छ । ”त्यस्ता औषधी व्यसायीहरुले गर्दा ईमान्दारितापूर्वक पसल संचालन गर्ने व्यवसायीहरुलाई मर्का परेको” एक औषधी व्यवसायीको भनाई रहेको छ । ”हुने नहुने फोटो राख्ने राखेर ठुला ठुला होर्डिगं बोर्ड टाँस्ने, दर्ता प्रमाणपत्र लगायतका आवश्यक कागजपत्रहरु नराख्ने, दर्ता नै नगरिकन संचालन गर्ने, अर्थआर्जनको लागि अनेकन औषधी किन्न लगाउने लगायतका कार्यहरु गर्ने गरेको कारण सहि औषधी उपचार र सल्लाह दिनेलाई पनि गारो भईरहेको” अर्का आयुर्वेदिक औषधी पसलेको भनाई रहेको छ ।
यसै बिषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका डाक्टर प्रमुख रामप्रवोध मण्डलसग प्रतिक्रिया लिदा ”जिल्लाभरको तुलनामा बढि जनघनत्व भएको दमौली बजारमा नै अनावश्यक फोटोहरु राखि ठुला ठुला होर्डिगं बोर्ड टाँस्ने, आफै डाक्टर हुँ भन्दै आयुर्वेद शिक्षा सम्बन्धि अध्ययन नगरेको व्यक्तिले विरामी जाँच गर्ने, अनावश्यक औषधी सिफारिस गर्ने, अनेकन विधिबाट ग्यारेन्टीका साथ उपचार गर्ने भनेर बिरामीलाई भ्रममा राख्ने, दर्ता नगरिकन औषधी पसलहरु संचालन गर्ने गरेको प्रशस्त उदाहरणहरु छन् ति सबैलाई कानुनको दायरामा ल्याउने प्रयाशमा आफु रहेको” बताउनुभएको छ ।
‘‘आयुवेर्दिक औषधी पसलहरुको अनुगमन औषधी व्यवस्था विभागले गर्ने गरेपनि जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्ला प्रशासन कार्यालय तनहूँको सहयोगमा समय समयमा अनुगमन गरिरहेको र त्यो अनुगमन पर्याप्त हुन नसकेको” डाक्टर मण्डलको भनाई रहेको छ ।
यसै बिषयमा आयुर्वेदिक औषधी व्यवसायीहरुको छाता संगठन नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी अंचल प्रदेश सदस्य भानु चापागाईसग प्रतिक्रिया लिदाँ ”दमौलीमा धेरै नै आयुर्वेदिक औषधी पसलहरु संचालनमा आएपनि नेपाल आयुर्वेद औषधी व्यावसायी संघ तनहूँमा थोरै संख्यामा औषधी व्यवसायीहरु सदस्य रहेको ” बताउनुभएको साथै ”दर्ता नगरिकन संचालन गरिएको, एउटै व्यक्तिले धेरै ठाउँमा संचालन गरिएको देखिएको, सुनिएको छ, त्यस्को लागि बिरामी वा सम्बन्धित कसैले उजुरी गरे संघले सचेत गराउन सकिने नियम कानुनको पालना र अनुगमन त राज्यले नै कडाई गर्नुपर्ने” चापाँगाईले बताउनुभएको छ ।








