तनहूँ । तनहूँको व्यास नगरपालिकामा केहि महिना अगाडि देखिएको कर्मचारी र प्रमुख प्रशासकिय अधिकृत (हाकिम) बिचको द्धन्द नयाँ चरणमा प्रवेश गरेर आम नगरवासीले दुःख पाईरहदा पनि केन्द्र तथा प्रदेश सरकारमा रहेको र व्यासको प्रमुख प्रतिपक्ष नेकपा एमालेले मौनता साँधेको छ । कर्मचारीहरु जसरी पनि हाकिमलाई सरुवा नै गर्ने ध्याउन्नमा विभिन्न पार्टीका नेताहरुलाई लिएर शक्ति केन्द्र तथा मन्त्रालय धाउने क्रम चलिरहेको खबर आएका छन् भने हाकिम ”म काम गर्न आएको मान्छे हुँ , काम कस्तो गर्छु केहि लक्षण देखाई पनि सकेको छु । मबाट गल्ती भएको छ भने नगरवासीको हित विपरित काम भएको छ भने एक मिनेट पनि बस्दिन , नियम कानुन पालना गराउदाँ कर्मचारीले सरुवा भएर जा भन्दैमा म किन जाने ?” भन्ने अडान कसिरहनुभएको छ ।
यसै बिषयमा नेकपा एमाले व्यास नगर कमिटिका अध्यक्ष बिरेन्द्र बहादुर अधिकारीसग उहाँले सम्पर्क गर्दा ”व्यासमा कर्मचारी र हाकिमबिच द्धन्द पश्चात हाम्रो पार्टी सहित ९ पार्टीले समस्याको समाधानको लागि नगर प्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारीलाई सम्युक्त ज्ञापन पत्र बुझाएपनि हालसम्म कसैबाट सम्बोधन भएको छैन । औपचारिक तथा अनौपचारिक रुपमा नगरप्रमुख न्यौपानले आफु यो भद्रगोललाई सुधार्न नसक्ने अवस्थामा रहेको स्विकार गरिरहनुभएको छ” भन्नुभएको छ ।
”२ महिना हुन लागिसक्यो नगरपालिकाको कामकारवाही ठप्प छ, के नेकपा एमाले सधै यस्तै हेरेर बसिरहन्छ त ? ” भनेर अधिकारीसग प्रश्न गर्दा ”व्यासमा बेथिति छ भन्ने कुरा आजमात्र होईन पहिलादेखि सबैलाई थाहा भएकै कुरा हो । आज आएर महिनौदेखि सेवाग्राहीलाई मर्का पर्दा जनप्रतिनिधिहरु चुप्प लागेर बसेको पाएका छन् , यसरी नै जनतालाई दुःख दिएर बसिररहने हो भने नेकपा एमाले धेरै दिन चुप्प लागेर नबस्ने ” पनि उहाँको भनाई छ ।
भनाईमा जे जस्तो भनेपनि पौष २१ गतेदेखि व्यासमा देखिएको द्धन्द र अन्योलले व्यासको एकातिर व्यासको बदनामी भएको छ भने अर्कोतर्फ सेवाग्राही मर्कामा परेका छन् । यस्तो बिषम परिस्थितिमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले समस्या समाधान गर्नतिर नलागि मौनताका साथ व्यास नगरपालिकाको त्यो चर्किएको रातो घरभित्रको द्धन्द रमाईलो मानेर हेरिरहनुलाई आममानिसहरुले समस्या समाधान गरौ भन्ने होईन कि नेकपा एमाले ”दुधको साक्षी बिरालो” बनेर बसेको टिप्पणी गर्न थालेका छन् ।








