(मिना भट्टराई)

जब अङ्कुराउदै गर्दा कोख भित्र
मेटिएको मेरो अस्तित्व अझै
समाजको असमानताबीच
कानुनको फन्दाले पनि उकास्न नसकेको
म उहि खाडाल भित्र पुरिरहेको छु,
आफ्नै पहिचान हराइरहँदा
खै ! कसरी मनाउ म नारी दिवस ?

मेरी आमाको बाह्र बर्षको उमेरमा
रङ्गिएका सिउँदोले
अझै जीवनमा कुनै खुशिको रङ्गहरुले
पोतीन नपाउदै जीवनको आधा उमेर
मनमा पीडा र चोट लिएर
जीवन यात्रामा एकल यात्री भनेर
गल्ती गर्नेलाई महसुस गर्नै नपाई
बाचिरहँदा मुटु जलाई जलाई,
खै ! कसरी मनाउँ म नारी दिवस ?

पल्लो गाउकी दिदी अझै
पलपल मरी बाचिरहेकी छिन्
दाइजो को नाम मा
आफ्नै जीवनसाथीले दिएको पीडाले,
खै ! कसरी मनाउँ म नारी दिवस ?
धैरै भएको छैन उनको अस्मिता लुटिएको
अस्मिता सङ्गै मेटाएको उनको अस्तित्व
नभेटिएका ति नरपशुहरु
उनको आत्माले शान्ती नपाउदा नपाउदै
न्यायका लागी लड्दा लड्दै
बिचलित भएकी आमासङ्ग
कुन खुसी साट्दै समाजमा
खै ! कसरी मनाउ म नारी दिवस ?

देख्दिनँ समाजमा कतै
जीवन यात्रामा उनी पनि सहयात्री हुन भन्ने,
सोचेर उनको साथमा खुसी साट्नेहरु,
समय र नारी उस्तै बुझेर
उनका मनसङ्ग अनेक सपना साटी,
जिन्दगीलाई मोलमोलाइमा बेच्नेहरु माझ्
खै ! कसरी मनाउँ म नारी दिवस ?
खै ! कसरी मनाउँ म नारी दिवस ?
(मिना भट्टराई । भक्तपुर)

अन्तिम पटक अध्यावधिक गरिएको 124 Viewed

प्रतिक्रिया दिनुहोस्