तनहूँ १ मा रामचन्द्र पौडेलको उत्तराधिकारी बन्न लिगलिगे दौड शुरु

  • ख-
  • ख+

गोविन्द भट्टराईले टिकट ल्याउलान् भन्ने डरले एकथरि आजकल रामचन्द्र पोखरेल र रघुनाथ पौडेललाई अचकाली बोक्न र चाट्न थालेका छन् किनकी गोविन्द भट्टराईले टिकट ल्याएर विजयी भए सधैभर, रामचन्द्र पोखरेल र रघुनाथ पौडेल उमेदवार भए १ कार्यकालपछि त आफ्नै हात जगन्नाथ ।

तनहूँ । त्यसो त तनहूँ जिल्ला नेपाली कांग्रेसका नेताहरु उत्पादन गर्नमा नेपालकै नाम चलेको जिल्लामा कहलिएको छ । तनहूँ जिल्लाको चोक चोकमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन सक्ने हैसियत भएकादेखि गल्ली गल्लीमा नेविसंघको केन्द्रीय सभापति बन्न सक्ने हैसियत छ भन्ने थुप्रै नेता तथा कार्यकर्ताहरु भेटिन्छन् । तैपनि नेताहरुको चरम गुटबन्दीको कारणले ति नेतृत्वहरु त्यति हुर्कने तथा नेतृत्वमा पुग्ने अवसर पाएका छैनन् । स्वर्गिय गोवर्द्धन शर्माले जग बसाएको तनहूँ कांग्रेस स्थापनाकालदेखि ईगो र अहंकारमा बाँचेको छ । तत्कालिन समयमा गठन गरिएको नेपाली कांग्रेस तनहूँको जिल्ला कार्य समितिमा ”गोविन्दराज जोशीले नराखेको” भन्ने रामचन्द्र पौडेलको ईगो, ”विपि कोईरालालाई कुरा लगाएर जिल्ला कार्य समितिमा पौडेल छिर्यो ” भन्ने जोशीको ईगो, राष्ट्रिय स्तरको नेता बनेपश्चात पनि पंचायतको समर्थन गर्नुभएका तत्कालिन समयका लोकप्रिय राजनीतिज्ञ श्रीभद्र शर्मा पुनः नेपाली कांग्रेसमा फर्किए आफ्नो अस्तित्व संकटमा पर्छ भन्ने तत्कालिन तनहूँ कांग्रेसका नेताहरुको ईगो र अहिले उक्त क्षेत्रबाट विजयी हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको राष्ट्रपति बनेपछि अरुको कद घटाएमात्र आफ्नो हाईट बढाउन सकिन्छ भन्ने आफुलाई रामचन्द्र पौडेलको उत्तराधिकारी दावी गर्नेहरुको ईगो ।

आफु र आफ्नो गुटलाई बलियो बनाउनको लागि पार्टीलाई धुलिसात गर्न कोहि पछाडि नहट्ने नेपाली कांग्रेस तनहूँको संस्कार भएकोले २०७४ को निर्वाचनमा ढुगों उठाएपनि जित्छ भन्ने कांग्रेसको गढमा कम्युनिष्टहरुले नराम्ररी धुलो चटाएका थिए । २०७९ को निर्वाचनमा माओवादीको धेरै भोट र नेकपा समाजवादीको केहि सय भोटले विजयी भएपछि ”देख्यौ त तनहूँमा कांग्रेसलाई हराउने कांग्रेसले नै हो अरु कसैले सक्दैनन्” भनेर तनहूँका कांग्रेसीहरु भन्न पाउनुभएको छ । यस क्षेत्रका सांसद रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति निर्वाचित भएपछि बैशाष १० मा हुन लागेको उपनिर्वाचनमा तनहूँ क्षेत्र नं. १ मा जस्ले टिकट ल्याउछ उक्त व्यक्ति रामचन्द्र पौडेलको उत्तराधिकारी हुने भएकोले यस क्षेत्रको उमेदवारीमा लिगलिगे दौड शुरु भएको छ ।

”मान्छेमा ईमान्दारिता र नैतिकता छ भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले रामचन्द्र पौडेलको स्थानमा उमेदवार बन्न पाउनुपर्छ” भन्ने धेरैले तर्क गरेपनि ”तनहूँमा धेरैलाई न्याय गर्नुपर्ने र योग्य नेताहरु भएकोले को होला त क्षेत्रमा उमेदवार” धेरै आशंकाहरु जन्मेका छन् । आम कांग्रेसका कार्यकर्ताहरुले टिकट प्राप्त गर्न सक्नेहरुमा गोविन्द भट्टराई, रामचन्द्र पोखरेल र रघुनाथ पौडेलको नाम लिएपनि क्षेत्रिय समितिमा टिकट माग गर्नेहरुको नाम १ दर्जन नाँघेको छ । टिकटको दावि गर्नेमा माथि उल्लेखित नामहरु र डोवाटे बि.क., सरिता गुरुगं, समुन्द्र गोदार, रामचन्द्र अधिकारी, लक्ष्मी आचार्य, दिपक भट्टराई, विष्णुबहादुर पन्त, देवकुमार श्रेष्ठ, अर्जुन अधिकारी र श्याम मौरातिसहित १३ जना आकांक्षीहरु पुग्नुभएको छ ।

माथि नै उल्लेख झै एक से एक नेता तथा कार्यकर्ताहरु भएको तनहूँमा केहि भईहाल्छ कि भनेर जति नै दौडिए, बोले र लेखे पनि क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवार बन्ने व्यक्ति रामचन्द्र पौडेलको उत्तराधिकारी हुने भएकोले क्षेत्र नं. १ मा जरो गाडेर बसेको गुट र ‘‘पौडलदाई पछि मै त हो नि” यस क्षेत्रको नेता भनेर बसेको गुट एक कार्यकालपछि आफुलाई सजिलै उक्त क्षेत्र सुम्पने नेतालाई अगाडि बढाउन कस्सिएर लागेको छ ।

आफ्नो भोलिको राजनीतिक भविष्य सुरक्षित गर्न गुटहरु सल्बलाउनुले पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको टिकट पाउने सम्भावनालाई अलिकति ब्रेक लगाउन खोजिरहेको छ । भट्टराई यस क्षेत्रबाट उमेदवार भएपछि पुस्ता हस्तान्तरण हुनेछ र लामो समयसम्म भट्टराई नै तनहूँ क्षेत्र नं. १ को निर्विकल्प नेता भईहाल्छन् कि भनेर रामचन्द्र पौडेलको उत्तराधिकारी बन्न खोज्ने तनहूँका नेताहरुको मनमा कालो बादल मढारिरहेको छ । त्यसैले त आजकल ति गुट उपगुटका नेताहरुमा रामचन्द्र पोखरेल र रघुनाथ पौडेलप्रति औधी माया पलाउन थालेको चर्चा दमौली बजारका चिया पसलतिर अच्चकाली चल्न थालेको छ किनकी ति गुटहरुको अनुमान छ गोविन्द भट्टराईले टिकट ल्याएर विजयी भए क्षेत्र नं. १ मा आफ्नो राजनीति सिद्धिनेछ, रामचन्द्र पोखरेल र रघुनाथ पौडेल उमेदवार भए १ कार्यकाल । त्यसपछि त आफ्नै हात जगन्नाथ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?