तनहूँ । तीन बर्षदेखि चार वटा खाँबो गाडेर टिनले छाएको टहरामा बस्दै आएका एक परिवारलाई राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले घर निर्माण गरिदिएको छ ।
बर्खामा हावापानी नछेक्ने, अत्यन्तै नाजुक अवस्थामा टहरामा रात कटाउँदै आएका तनहुँको भिमाद नगरपालिका–२, मैदिखोला बस्ने बर्ष ६३ का रेजबहादुर कुमालको परिवारलाई युवा संघले ब्लकको गारो लगाएर दुई कोठे घर निर्माण गरिदिएको हो । उक्त टहरामा रेजबहादुर र उनका मानसिक रुपमा अशक्त १८ बर्षिया छोरी निरमाया कुमाल बस्दै आएका थिए । निरमाया कुनै पनि काम गर्न मेसो पाउदिनन् । रेजबहादुर पनि उचित खानपान नहुदाँ शारिरीक रुपमा कमजोर छन् । अन्य आयश्रोत नभएको र काम गर्न समेत नसक्ने अवस्थाको हुदाँ कुमाल बाउछोरीले कठिनपुर्ण दिन विताइरहेको शिव आलेले जानकारी दिए ।
कुमाल बाउ छोरीको यो टिठ लाग्दो अवस्था देखेपछि युवा संघ नेपाल भिमादका अध्यक्ष विजय मल्लले घर निर्माणको अभियान सुरुवात गरेका थिए । अध्यक्ष मल्लका अनुसार उक्त घर युवा संघमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी रु। ६५ हजार लागतमा निर्माण गरिएको हो । एउटा भान्छा कोठासहित अर्को सामान राख्न र सुत्न मिल्ने कोठा निर्माण गरिएको छ ।
शुक्रबार नवनिर्मित घर कुमाल परिवारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं तनहूँ जिल्ला इन्जार्च उज्वल खनालले राष्ट्रिय युवा संघ नेपाल दुःखको सारथी भएको बताए । जहाँ दुःख, अभाव र समस्या पर्छ त्यहाँ युवा संघ नेपाल आइपुग्ने दाबी गर्दै कुनै लोभलालच देखाउन र भोट किन्न नआउने बताए । अन्य पार्टीमा पनि युवाहरु रहेको तर युवा संघमा आवद्ध युवाहरु फरक रहेको दाबी गर्दै सामाजिक र मानवीय सेवामा क्रियाशील रहेको खनालको भनाई छ ।
उनले भने बर्खा लाग्ने भएकाले छिटो भन्दा छिटो उहाँलाई सुरक्षित आवासभित्र राख्नुपर्छ भनेर हामी सवैले सहयोग उठाएर घर बनाएका हौँ । अन्य दुःखमा परेकाहरु कोही हुनुहुन्छ भने पनि हामी सहयोग गछौँ । हामी समस्यामा आउँछौँ । हामी लालच देखाउन, हामी भोट किन्न तपाईकोमा आउँदैनौैँ । बुबाले बेसार खाएर बाचेका हौँ भन्नु भयो । अब बेसार खानुपदैन । हामी निरन्तर सहयोग गछौँ तर तपाई उत्पादनमा जोडिनुस् । कृषि कर्ममा लाग्नुस् । त्यति गर्दा पनि पुगेन भने हामी अभियान चलाएर तत्कालै खाद्यन्न सहयोग गर्नेछौँ ।
नगर कमिटीका अध्यक्ष विजय मल्लले आफुहरुले कुनै पनि पार्टी र जाति नभनीकन सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताएका थिए । (रेडियो ढोरबाराही)


                    



				                               
							
							
							
    
    
    
    
    
    
    

