सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको चुनावी कमाण्डर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी आक्रामक रुपले चुनाव प्रचार प्रसारमा जुट्नु भएको छ । सोमबार सङ्घीय संसदको बैठक चल्ने भएपनि त्यसलाई थाति राखेर भण्डारी आक्रमक रुपमा चुनावी प्रचारमा जुट्नु भएको हो । भण्डारीले व्यास नगरपालिका वडा नम्बर १० को वैरेनीबाट सुरु भएको प्रचार अभियान एकै दिनमा एक दर्जन स्थानमा मतदाता भेटघाट गर्नु भएको छ । व्यास पछि भानु नगरपालिकाको विभिन्न स्थानमा मतदाता भेटघाट गरिएको हो । राष्ट्रपतिको जिल्लाको गरिमा कायम राख्न र तनहूँको विकासलाई गतिशिल बनाउन गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्ने बताउनुभयो । केन्द्रमा गठबन्धनकै सरकार रहेको र उच्च हैसियतको उम्मेदवार भएकोले जितेपछि मन्त्री बनाउन र तनहूँमा विकासको मुल फुटाउन भट्टराईलाई मतदान गर्नुपर्ने बताउनुभयो ।
भण्डारीसँग नेपाली कांग्रेस तनहूँका सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, महासमिति सदस्य प्रा. डा. कृष्णप्रसाद गौतम, महाधिवेश प्रतिनिधी सरिता गुरुङ, जिल्ला सचिव सहदेव अधिकारी, सदस्य डम्बर अधिकारी लगायतले भट्टराई त्यागी, स्वच्छ छवि भएको र बौद्धिक नेता भएकोले भोट हालेर जिताउन एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
नेपाली कांग्रेस युवा नेता तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताएर मन्त्री बनाउनु पर्ने बताउनुभएको छ । उहाँले तनहूँ १ का मतदाताले तत्कालिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएको र वैशाख १० गते हुने उपनिर्वाचनमा मन्त्री बनाउने अवसर आएको बताउनुभएको छ ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

