तनहूँ । तनहूँ १ को प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले आफ्नो चुनावी अपिल सार्वजनिक गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै भट्टराईले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्याउने घोषणा गर्नुभएको छ । उहाँले गरिब र नसक्नेका लागि न्यूनतम बिजुली र पानीको शुल्क नलिने व्यवस्था गराउने पनि उल्लेख गर्नुभएको छ। सबै पालिकाबाट घर घरमा सेवा दिन आवश्यक व्यवस्था समेत पाँच वर्षभित्र हुने उहाँको प्रतिवद्धतामा छ ।
तनहूँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उहाँले  तनहूँमा प्रसुती, क्यान्सर, मृगौला वा बाल सम्बन्धी विशिष्टिकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गर्नुभएको छ । जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उहाँको प्रतिवद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशुली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।
व्यास र पुलिमराङ मार्ग,  घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिवद्धता उहाँको छ ।
प्रतिवद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ । जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उहाँले पर्यटकीय थलोहरु तनहूँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराईको प्रतिवद्धतामा छ ।
तनहीँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिवद्धतामा छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहूँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउने समेत भट्टराईले घोषणा गर्नुभएको छ। 

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

