तनहूँ । जालझेलपूर्ण र अपमानित गर्ने कारवाही फुकुवाको नाटक मान्य नहुने नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समुहको भनाई रहेको छ । उक्त समुहका नेता एवं पुर्व मन्त्री गोविन्दराज जोशीले आज एक वक्तव्य जारि गर्दै नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहूँ जिल्ला क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ । जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ । गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनि नेपाली काङ्ग्रेसद्वारा गरिएको प्रचार विल्कुल झूठो हो भनिएको छ । साथै वक्तव्यमा हाम्रो तर्फबाट कुनै उमेदवार नभएकोले मतदान गर्दा २१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहूँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहूँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछु उक्त प्रेस वक्तव्यमा भनिएको छ ।
वक्तव्य
नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूह तनहूँ (२०७९)
मिति २०७९ । १२ । २९
प्रेस वक्तव्य
नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली काङ्ग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ । नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं। १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ । जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ । गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनि नेपाली काङ्ग्रेसद्वारा गरिएको प्रचार विल्कुल झूठोहो । उक्त वक्तव्यले नेपाली काङ्ग्रेस तनहूँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ ।
जहाँ सम्म आगामी वैशाख १० गते सम्पन्न हुने उप-निर्वाचनको सन्दर्भ रहेको छ, यसमा हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौँ अर्थात् यो उप निर्वाचनमा हाम्रो कुनै आधिकारिक उम्मेदवार छैन । तनहूँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ । नेपाली काङ्ग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल–कपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ । यस विषयमा अहिले हाम्रो कुनै टिप्पणी छैन । वार्ताको क्रममा २०४७ सालको निर्वाचनपछि धेरै इमानदार साथीहरू पार्टीबाट विभिन्न कारणले अलग्गिएर बसेका छन् । आज नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न यी सबैको सहयोगको खाँचो छ भन्ने कुरा हामीले महसुस गरेका छौ । पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र अहिले पनि छ । तनहूँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने काङ्ग्रेस नेतृत्व यो बृहत् कुरामा सहमत हुने कुरै भएन । त्यसैले उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।
जहाँसम्म मतदानको प्रश्न छ यो उप-निर्वाचमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहूँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ । त्यसैले मतदान गर्दा २१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहूँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहूँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछ ।
अन्त्यमा,
सत्य, न्याय र सामाजिक समृद्धिका लागि हाम्रो लडाइँ सकिएको छैन । जसका लागि हामी सधैँ लडिरहने छौँ । अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागिहुने छ । किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन । जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै ।
जय नेपाल
नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूहका तर्फबाट
गोविन्द राज जोशी
पूर्व मन्त्री








