तनहूँ १ , चितवन २ र बारा २ मा मतदान सुरु

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नं. १ , चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।

यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उहाँको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।
तनहूँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार हुनुहुन्छ ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव,, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?