तनहूँ १ मा डा. स्वर्णिम वाग्लेको उदय नेपाली राजनीतिको टर्निगं प्वाईन्ट !

  • ख-
  • ख+

प्रधानमन्त्री, पुर्व प्रधानमन्त्रीहरु, पुर्वमन्त्रीहरु, दर्जनौ सांसद, विभिन्न दलका महामन्त्रीहरुदेखि दर्जनौ केन्द्रीय सदस्य, प्रदेश सभाका सांसदहरुको जत्थाको एउटै निष्कर्ष थियो ”आचारसंहिता जाए तेल लेने डा. स्वर्णिम वाग्लेलाई तनहूँ १ मा जसरी पनि हराउनु नै पर्दछ ।”

बैशाष ६ गते तनहूँको डुम्रेमा आयोजित सत्तारुढ गठबन्धन दलको चुनावी सभाका दृश्यहरुलाई आज सरसर्ति सम्झने हो भने त्यो सभा निकै रमाईलो थियो । कसैको भाषामा अवसरवादी, कसैको भाषामा मर्स्यागंदी तरेर आएको टुरिष्ट , कसैको भाषामा १०, १० बर्ष सम्म राष्ट्रिय योजना आयोगमा बसेर तनहूँलाई के दियो ? कसैको भाषामा ”तनहूँको भुगोलको बारेमा केहि थाहा नभएको मानिस” भनिएको आँखामा पावरवाला चश्मा लगाएको, आमसर्वसाधारण मानिसजस्तो देखिने, चिटिक्क परेर सर्ट पाईन्टमा ठाँटिएर हिड्ने, मुसुक्क मुस्कुराईरहने, समयलाई एकदमै व्यवस्थित गरेर हिड्न मन पराउने, हिजोसम्म कसैले हिरा आज उसैको नजरमा हिरा किरा भएको, ”म्यानहटनकोे पेन्ट हाउसमा बस्नुको मजा लिदै डलर कमाएकोलाई तनहूँको राजनीति के थाहा ?” भनेर खिसि गरिएको पात्र डा. स्वर्णिम वाग्लेलाई हराउन देशकै प्रधानमन्त्रीदेखि भुतपुर्व प्रधानमन्त्रीहरु हुलै बाँधेर तनहूँको डुम्रेमा ओर्लनुपर्यो । केटाकेटीलाई ललिपप बाँडेभन्दा सस्तो सम्झेर त्यो भिडमा मन्त्री पद बाँड्नुपर्यो । त्यो भिडको अर्को रमाईलो पक्ष भनेको उक्त भिडमा दुईजनासग ठोकिदाँ एकजना कुनै न कुनै दलको केन्द्रीय सदस्य या त संघिय सांसद नभएपनि प्रदेश सांसद त पक्का भेटिन्थ्यो । भारेटाकुरे, आफुलाई महान सोच्ने, राजनीतिलाई व्यवसाय बनाएर गरिखाने भुईफुट्टा नेताहरु त कति हो कति ।

प्रधानमन्त्री र पुर्व प्रधानमन्त्रीहरु मन्चमा भएको र गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढल्ला र मन्त्री पड्काउला भनेर प्रदेशसभाका माननियहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नदेखेपनि धनुष्टंकार हुने गरि पटक पटक गरेको नमस्कारको दृश्य कम्ता रोचक थिएन । जे जस्ता रमाईला दृश्यको रसस्वादन गर्न पाईएपनि उक्त आमसभाको सबैको एउटै निचोड थियो ”आचारसंहिता जाए तेल लेने डा. स्वर्णिम वाग्लेलाई तनहूँ १ मा जसरी पनि हराउनु नै पर्दछ ।”

गोरखाको विकट गाउँमा जन्मेर नेपालकै प्रख्यात बुढानिलकण्ड स्कुल हुदै लण्डन स्कुल अफ ईकोनोमीबाट बी.एस्सी. (ईकोनोमिक्स्) गर्दै अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अनि अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पि एच् डि होल्डर वाग्लेलाई हराउन सत्ता, शक्ति र १ दलमात्र होईन दशौं दल लाग्दा पनि केहि सिप लागेन । कांग्रेसले प्रतिष्ठाको बिषय बनाएको तनहूँ १ मा शिर्ष नेतृत्वको हारगुहार, गर्न खोजेपनि गर्न नसकिएको सत्ताको दुरुयपयोग अनि पढेको भन्दा ढुगां हानेको व्यक्ति ठिक भन्ने विचार स्थापित गर्न खोजे पनि चैत्र १५ गते कांग्रेस परित्याग गरेका डा. स्वर्णिम तनहूँमा भएका अघिल्ला निर्वाचनहरुका रेकर्ड ब्रेक पुर्व प्रधानमन्त्रीहरु, विभिन्न पार्टीका केन्द्रीय सदस्यहरु, मन्त्री हुन लालायितहरुलाई लज्जास्पद हार चखाउदै विजयी हुन सफल हुनु भयो ।

सधै कांग्रेसले हाम्रो गढ भन्ने तनहूँमा विजयी भएर डा. वाग्लेको विजय सानोतिनो उपनिर्वाचनको विजय मात्र हाईन डा. स्वर्णिमको विजयले नेपालको राजनीतिमा नयाँ अध्यायको शुरुवात गरेको धेरैले अनुमान गरेका छन् । डा. स्वर्णिमको विजयसगै विद्धतवर्ग राजनीतिमा आउन प्रेरित हुनसक्ने धेरैको आंकलन छ । त्यस्को पुर्व संकेत डा. स्वर्णिम वाग्लेका सहयात्री ईन्जिनियर श्रीराम न्यौपानेले ”यो चुनावमा स्वर्णिमको जित भयो भने स्वदेश तथा विदेशमा नाम कमाएका धेरै मानिसहरु अब त हाम्रो देश नेपालमा पनि केहि हुन्छ भनेर आशावादी हुने छन् र डा. स्वर्णिमको विजयले समाजमा केहि आशा जगाँउछ’‘ भन्ने भनाईले बल पुगेको छ । साथै डा. स्वर्णिमको विजयले एकातिर देशको लागि गर्नुपर्छ भन्ने भावना भएका मानिसहरुको मन तरंगित भएको छ भने अर्कोतर्फ पुराना राजनीतिक दलका मठाधिसहरुको निन्द्रा हराम भएको सबैले अनुभुति गरेका छन् । डा. स्वर्णिमको विजयसगै कसैलाई गालि नगरिकन, कसैलाई धारे हात नलगाईकन, मुस्कुराउदै भाषण गरेर र सादा दाल, भात खाएर पनि चुनाव जित्न सकिदोरहेछ भन्ने भाष्य तनहूँ १ मा पनि स्थापित हुन लागेको आभाष भएको छ ।

ललिपप बाँडे झै मन्त्री पद बाँडेर, राज्यकोषको दुरुपयोग गर्दैमा चुनाव जित्न सकिदोँरहेछ भन्ने चेत नखुलेमा पुराना राजनीतिक दलहरु आफ्नो राजनीति नामको व्यापार, व्यवसाय चौपट नबनोस् तनहूँ १ बाट डा. स्वर्णिमको विजय नेपाली राजनीतिको टर्निगं प्वाईन्ट नबनोस् र आफ्नो रोजीरोटी नखोसियोस् भन्दै डा. स्वर्णिमलाई मात्र होईन राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि खहरे भेल संज्ञा दिईरहेका छन् । जुन कुरालाई गलत सावित गर्ने चुनौतिको पहाड चढ्न डा. स्वर्णिम र रास्वपाले धेरै मेहनत गर्नुपर्नेछ । किनकी जित आफैमा ठुलो कुरो होईन तमाम बाधा अवरोध पन्छाउदै जितको औचित्य पुष्टि गर्नु चाँहि महानता हो त्यो स्वर्णिम मौका तनहूँ १ बाट निर्वाचित माननिय डा. स्वर्णिम वाग्लेको काँधमा आईपरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्