ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि यौनशोषण गरेको अभियोगमा व्यापारी पक्राउ

  • ख-
  • ख+

एक जना किशोरीलाई ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि योनशोषण गरेको अभियोगमा विराटनगरका एक जना व्यवसायी पक्राउ परेका छन्।

अहिले २० वर्ष पुगेकी ती किशोरी १५ वर्षको हुँदादेखि जबरजस्ती गर्दै आएको अभियोगमा विराटनगर-६ का ३० वर्षीय मोहम्मद रिजवान अन्सारी पक्राउ परेका हुन्। पक्राउ परेका अन्सारीको विराटनगरमा चस्मा पसल छ।

अन्सारीमाथि ती किशोरीलाई २०७४ देखि जबरजस्ती गरेको अभियोग छ। पहिलोपटक बलात्कार गरेको भिडिओ खिचेको र त्यही सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर यौन शोषण गर्दै आएको खुलेको मोरङ प्रहरीले जनाएको छ।

यसरी ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले जानकारी दिए।

‘जबरजस्ती करणी गरेपछि पीडितको भिडिओ बनाएको पाइएको छ। त्यही अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास देखाएर ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरू गरिएको छ।’

बलात्कारको शिकार बनेकी किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि रहेको थियो।

‘उसले भनेको र गरेको मानेन भने भिडिओ सामाजिक सञ्जालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो। करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ।

प्रहरीका अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणाी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ। प्रहरीले उनीविरूद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरू गरेको उनले बताए। किशोरीसँग सम्बद्ध अश्लिल भिडिओ अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेका थिए। त्यसपछि उनी पक्राउ परेका हुन्। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्