रास्वपामा प्रवेशको लागि आवश्यक योग्यता नगुमाउन गगन थापालाई ई. श्रीराम न्यौपानेको अपिल

  • ख-
  • ख+

(डा. स्वर्णिम वाग्ले र रास्वपाका सभापति रवि लामिछानेका साथमा वरिष्ठ ई. श्रीराम न्यौपाने)

पछिल्लो समय नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन थापाले सामाजिक संजालमा लेखेको एउठा स्टाटस अति चर्चामा छ । उक्त स्टाटसमा थापाले लेख्नुभएको छ ”धेरैपटक प्रतिरोध गरे अब त अति भो ।’‘ उक्त स्टाटसको बारेमा विभिन्न अड्कलवाजीहरु गरिरहदा केहि समय अगाडि नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुभएका वरिष्ठ ई. श्रीराम न्यौपानेले ”उक्त स्ट्याटस केवल नेतृत्वलाई तर्साउने बोधो हतियार भएको र रास्वपामा प्रवेशको लागि आवश्यक योग्यता नगुमाउन” नेका महामन्त्री गगन थापालाई अपिल गर्नुभएको छ ।

”नेपाली कांग्रेसमा योग्य र समक्ष मानिसले कमै मौका पाउने” आरोप लगाएर कांग्रेस छोडि हालसालै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरि बैशाष १० को उपनिर्वाचनमा तनहूँ १ बाट डा. स्वर्णिम वाग्लेलाई विजयी गराउन महत्वपुर्ण भुमिका खेल्नुभएका वरिष्ठ ई. न्यौपाने ”गगन थापाले यति स्टाटस लेख्न सक्नु हिम्मतको कुरा भएपनि १३ औं महाधिवेशनमा तत्कालिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिका लागि समर्थन गर्नुस् भन्दा पौडेललाई सानो चित्तको मान्छे भन्ने तपाई मंसिरको चुनावमा संसारले चिनेको डा. स्वर्णिम वाग्ले जस्तो अर्थविदलाई काठमाण्डौ वा गोरखा वा चितवन तिनमध्ये कुनै एक ठाउबाट पनि टिकट दिलाउन नसक्नु, जनतालाई देखाउन मात्र भए पनि तपाईले प्रयास गरेको नाटक गर्नु पनि सानै चित्त भएको ” आज एक स्टाटस मार्फत घुमाउरो पारामा बताउनुभएको छ साथै ई.न्यौपानेले ”तपाईले मेहनत गरेको भए आज राम्रै हैसियत भएको म र डा. स्वर्णिम वाग्ले पनि कांग्रेस छोड्न नसक्ने” पनि लेख्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भाईको रुपमा सम्बोधन गर्दै वरिष्ठ ईन्जिनियर न्यौपानेले ‘‘देशको राजनिति धमिलिएको छ, अर्थतन्त्र शिथिल छ, सम्हाल्न सक्ने नैतिक हैसियत कांग्रेस भित्र छदै छैन तैपनि स्ट्याटसबाट शुरु भएको लडाई एउटा मन्त्री पद र अन्य नाटकीय उपलव्धिमा सिमित नरहोस। कांग्रेस भित्र देश र जनताको हितमा कत्ति पनि विचलित नभई असल नियतका साथ नडगमगाई लडिरहनुहोस। अव दक्ष र क्षमतावान व्यक्तिलाई धैर्य गर्ने उपदेश नदिनु होला, आफु पनि धैर्य गर्ने क्रममा मौलाईरहेको विकृति,विसंगति र भ्रष्टाचारको खिलाफमा खरो उत्रुनु होला भन्नुका साथै महामन्त्री थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गर्न आवस्यक योग्यता नगुमाउनु होला” भन्दै थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन आग्रह गर्नुभएको छ ।

वरिष्ठ ई. श्रीराम न्यौपानेको भनाई

प्रिय गगनजी,
पहिलोपटक महामन्त्रीको हैसियतमा आशावादी स्टाटस लेख्ने हिम्मतसम्म गर्नु भएकोमा कांग्रेस जस्तो इतिहास बोकेको पार्टीका लागि खुशीको कुरा हो।
तपाई आफै त्यतिबेला चुक्नु भएको हो, जतिबेला १३ औं महाधिवेशनमा सभापति पदमा देउवासँगको प्रतिस्पर्धामा रामचन्द्र पौडेल उत्रनु भएको थियो। दोस्रो पटक सभापतिको प्रतिस्पर्धामा तपाईको समर्थन रामचन्द्र पौडेललाई भएको भए आज यो स्ट्याटस लेख्न पर्दैनथ्यो होला। म पनि त्यतिबेला रामचन्द्र पौडेलको स्वस्फूर्त प्रतिनिधिको रुपमा करीब एक हप्ता रातदिन नभनि खटेको थिए। त्यतिबेला मैले तपाईसंग पटक-पटक संवाद गर्ने क्रममा स्पष्ट भनेको थिए ”गगनजी कांग्रेसको दुरगामी हित चाहनुहुन्छ भने तपाईले यसपटक सिटौलालाई होइन रामचन्द्र पौडेललाई समर्थन गर्नुहोस।” तपाईको एउटै जवाफ हुन्थ्यो ”दाई, रामचन्द्र दाईको चित्त सानो छ ।” अन्ततस: तपाईले सिटौलालाई सघाउनु भयो किनकि तपाईलाई सिटौलालाई जिताउछु भन्ने थिएन देउवालाई जिताउनु थियो। गत राष्ट्रपति निर्वाचनमा सिटौला हुनुपर्छ भन्नसक्नु भएन तिनै पार्टी सभापतिमा सानो चित्त (तपाईको बुझाईमा) का रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनु भयो। यसबाट स्पष्ट हुन्छ कि तपाई स्पष्ट राजनितिक दृष्टिकोण नभएको नेता हो।
तपाई चुकेको दोस्रो सन्दर्भ हो पार्टीको महामन्त्री जस्तो गरिमामय र शक्तिशाली पदमा रहेर पनि गत मंसिरको चुनावमा संसारले चिनेको डा. स्वर्णिम वाग्ले जस्तो अर्थविद् लाई काठमाण्डौ वा गोरखा वा चितवन तिनमध्ये कुनै एक ठाउबाट पनि टिकट दिलाउन नसक्नु। जनतालाई देखाउन मात्र भए पनि तपाईले प्रयास गरेको नाटक गर्नु भयो तर डा. वाग्लेलाई टिकट दिलाएर नतिजा निकाल्न सक्नु भएन। त्यतिबेला पनि मैले तपाईलाई सयौ पटक संपर्क गर्ने प्रयास गरे तर तपाईले कुरा गर्न चाहनु भएन। एउटा महामन्त्रीसंग एउटा टिकट दिने हैसियत भएको भए म र डा. वाग्ले कांग्रेसबाट अलग हुने थिएनौ र आज देशको राजनिति यति तरंगित हुदैनथ्यो होला।
आज तपाईले जुन स्ट्याटस लेख्न वाध्य हुनु भएको छ । यो परिदृष्य मैले १३ औ महाधिवेशनमा देखेर तपाईलाई भनिसकेको थिए।
म एउटा प्राविधिक भएको हुॅदा मेरो विश्लेषण प्राविधिक नै हुन्छ। तपाईको आजको यो स्ट्याटस डा. स्वर्णिम वाग्ले र मैले चालेको कदमको परिणाम हो भन्ने कुरा नबिर्सनु होला।
तपाईको आजको स्ट्याटस केवल नेतृत्वलाई तर्साउने बोधो हतियार सावित नहोस, नतिजा दिने धारिलो हतियार बनोस, शुभकामना छ।
अन्त्यमा तपाईलाई पुनः मेरो सुझाव छः देशको राजनिति धमिलिएको छ, अर्थतन्त्र शिथिल छ, सम्हाल्न सक्ने नैतिक हैसियत कांग्रेस भित्र छदै छैन। तपाई कांग्रेस भित्र बसेर सुधार्न प्रयत्नशील रहनुहोस, कांग्रेस भित्र धमिलिएको राजनितिलाई कम्तीमा ८०% संग्ल्याउनुहोस। स्ट्याटसबाट शुरु भएको लडाई एउटा मन्त्री पद र अन्य नाटकीय उपलव्धिमा सिमित नरहोस। कांग्रेस भित्र देश र जनताको हितमा कत्ति पनि विचलित नभई असल नियतका साथ नडगमगाई लडिरहनुहोस। अव दक्ष र क्षमतावान व्यक्तिलाई धैर्य गर्ने उपदेश नदिनु होला, आफु पनि धैर्य गर्ने क्रममा मौलाईरहेको विकृति,विसंगति र भ्रष्टाचारको खिलाफमा खरो उत्रुनु होला।
कांग्रेसका कारण विकासको गतिमा शिथिलता नआओस। अर्को निर्वाचनसम्म नयॉ पार्टी खोल्न वा राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गर्न आवस्यक योग्यता नगुमाउनु होला। तर फेरिपनि पहिलो प्रयास कांग्रेस सुधार्न र बनाउन नै लाग्नुहोला। डा. स्वर्णिम वाग्ले र मैले कांग्रेस त्यागे जस्तै लाखौ कांग्रेसीले तत्काल त्याग्ने अवस्थाबाट कांग्रेसलाई जोगाउन लागि पर्नुहोस।
धन्यवाद !
तपाईको दाजु
ई. श्रीराम न्यौपाने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्