काठमाण्डौ । बौद्ध धर्मकी ज्ञाता डा. अनोजा गुरुमाँको बुधवार बिहान निधन भएको । ११ बर्षको उमेरदेखि भिक्षुणी चोला धारण गरि समाजसेवा गरिरहनुभएकी डा. अनोजाको बुधवार बिहान निधन भएको हो ।
काभ्रेपलान्चोक जिल्ला हालको बनेपा नगरपालिकाको वाँख्याटोलमा बि.सं. २०१६ सालमा जन्मनुभएकी डा. अनोजाको नाम शारदा मानन्धर हो ।
जीवन र जगतको कल्याणको लागि बौद्ध धर्म अपरिहार्य भन्ने सोचका साथ भिक्षुणी बनेर हिड्नुभएपछि उहाँको नाम अनोजा रहेको थियो । पिता हिरा नारायण मानन्धर र माता रत्नमाया मानन्धरको कोखबाट जन्मनु भएकी डा. अनोजाले कीर्तिपुर नगरपालिकाको चोभार गेटमा सुलक्षण कीर्ति विहार संचालनमा ल्याउनुभएको छ ।
बेसहारा, अपांग र दिनदुखीहरुको सेवाभावमा खटिरहने डा. अनोजाले बाढि पहिरो , २०७२ सालको बिनाशकारी भुकम्प लगायतका प्राकृतिक विपत्तिहरुमा आर्थिक, भौतिक सहयोग पनि गर्नुभएको थियो ।
समाजमा पुरयाएको योगदानको कदर गर्दै डा. अनोजालाई नेपाल, भारत, म्यान्मार, थाईल्याण्ड लगायतका देशबाट विभिन्न सम्मानबाट विभुषित पनि गरिएको थियो ।
लुम्विनी बिश्वविद्यालयको सभा सदस्य , गुठी संस्थानको सदस्य, काभ्रे बहुमुखी क्याम्पसको सदस्य, लुम्विनी बिकास परिषद्, नेपाल भाषा एकेडेमीको सदस्य लगायतका बिभिन्न संघसंस्थाहरुमा आवद्ध हुनुभएकी डा. अनोजा सुलक्षण कीर्ति विहारको संस्थापक वहाँ बुद्ध ज्योति अन्तराष्ट्रिय संघ नेपाल शाखाको संस्थापक अध्यक्ष हुनुहुन्छ । बौद्ध धर्म सम्बन्धमा पि.एच्. डि. गर्नुभएकी डा. अनोजाका सुलक्षण कीर्ति विहार एक परिचय, बौद्ध ध्यान, बौद्ध प्रवचनमाला भाग १ र २ , शान्ति अभिप्रेरणा, नियात्राका पदचापहरु, शील सन्देश लगायत दर्जनौ पुस्तकहरु प्रकाशित छन् ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

