तनहूँ / पोखरा महानगरपालिकाको श्रृजनाचोकमा मेट्रो सिटी अस्पतालले चरम ठगी गरेको तनहूँका १ बिरामीका आफन्तले आरोप लगाउनुभएको छ । व्यास नगरपालिका वडा नंं १० कुमलटारीका साँढे २ बर्षिय सन्यम थापाका हजुर बुबा गोपाल थापाले आफ्नो नाति उपचारको लागि लग्दा अस्पताल प्रशासनले चरम ठगी गरेको आरोप लगाउनुभएको छ ।
मेरो नाती खेल्दा लडेर टाउकोमा चोट लागेर उक्त अस्पताल लगियो , परिवारको सल्लाहमा नै टाउको संवेदनशिल अंगमा केहि छ कि भनेर २ दिन भर्ना गरेर पनि राखियो । सिटी स्क्यान लगायत अन्य चेकजाँच गरेर हेर्दा टाउकोमा केहि नभएको सामान्य बाहिरी चोट देखियो । सिटी स्क्यान लगायतका सबै बिलहरु पेमेन्ट गरे पश्चात टाउकोमा लागेको चोटमा टाँका लगाउनुपर्छ भनियो । बच्चालाई टाँका लगाएर ल्याएपछि अस्पताल प्रशासनले जुन प्रकारले बिल थम्यायो त्यो देख्दा अचम्म लाग्यो । तस्विरमा देखिएको टाँका लगाएको भनौ कि के भनौ यस्को शुल्क मात्र ७५ हजार तिर्नुपर्छ भन्यो । हामी दंग परेर अस्पताल प्रशसानसग कुरा गर्दा एक जना डा. राजन शर्मा भन्नेले निकै कडा रुपमा प्रस्तुत हुदै मेजर अपरेशन होस् कि टाँका होस् हामी त्यति नै पैसा लिन्छौ भनेर हामी बिरामीका आफन्तलाई निकै तर्साउनुभयो । ठिक छ हामी हाम्रो बच्चाको उपचार त ७५ हजार होईन ७५ लाख लागेपनि गर्ने थियौ तर टाँका लगाएको त्यत्रो रकम ? बिरामीको आफन्तलाई पहिल्यै खबर गर्नुपर्दैन ? भनेर प्रश्न गर्दा उहाँहरु टसको मस हुनुभएन, यो त चरम ठगी भयो , बोल्न नसक्ने मान्छे ? सानो चोटपटकको लागि लाखौ रकम तिर्न नसक्ने मान्छेले के मेट्रो सिटी अस्पतालमा उपचार गर्न नै जान नपाउने ? अस्पतालको चरम शोषणको आवाज कहि उठाउनै नपाईने ? व्यास १० कुमलटारीका गोपाल थापा प्रश्न गर्नुहुन्छ ।









