कसरी बिग्रियो माल्भिका सुब्बाको घरबार ? भक्कानिँदै प्रियंकालाई सुनाइन् डिभोर्सदेखि डिप्रेसनसम्मको अन्तरकथा

  • ख-
  • ख+

पूर्वमिस नेपाल माल्भिका सुब्बा टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम चलाउँछिन्, जसमा सफल दाम्पत्य सम्बन्धमा रहेका जोडीहरुलाई ल्याएर उनीहरुको प्रेम र रोमान्सका कुराहरु खोतल्छिन् । तर, माल्भिकाको आफ्नै दाम्पत्य जीवनको अनुभव भने मीठो छैन ।

आफ्नो निजी जीवनका विषयमा अहिलेसम्म माल्भिकाले सार्वजनिक रुपमा बोलेकी थिइनन् । श्रीमानसँगको डिभोर्सलाई पनि उनले मिडियाबाट लुकाएर राखेकी थिइन् । तर, हालै नायिका प्रियंका कार्कीसँगको एक अन्तर्वार्तामा उनले आफ्नो वैवाहिक जीवन कसरी असफल भयो भन्ने विवरण सुनाएकी छन् । अन्तर्वार्तामा उनी पटक पटक भावविह्वल भएकी थिइन् ।

प्रियंकाले आफ्नै युट्युब च्यानलमा सञ्चालन गरिरहेको कार्यक्रम ‘फोर्थ ट्राइमेस्टर’ मा माल्भिकालाई गेस्ट बनाएकी हुन् । एकदमै मिल्ने साथी भएकाले पनि उनीसँग खुल्न माल्भिकालाई सजिलो भयो । उनले आफ्नो प्रिग्नेन्सीदेखि डिभोर्ससम्मका कुराहरु पहिलोपटक सार्वजनिक गरिन् ।

माल्भिकाले ३ वर्षको प्रेम सम्बन्धपछि रियाज श्रेष्ठसँग २०६९ सालमा विवाह गरेकी थिइन् । विवाहको केही समयसम्म ठीकठाक चले तापनि आफू गर्भवती भएदेखि सम्बन्धमा दरार सुरु हुन थालेको माल्भिकाको भनाइ छ । गर्भावस्थामा आफूले श्रीमानबाट पर्याप्त साथ नपाएको उनले बताएकी छन् । सम्बन्ध बिग्रिन थाल्नुको कारण भने उनले खुलाइनन् ।

‘प्रेग्नेन्सीपछि केही इस्युहरु सुरु भयो । श्रीमानका रुपमा मैले धेरै कुरामा सपोर्ट पाइनँ । मैले सोचेको कुराहरू गर्न पाइनँ’, उनले भनिन् ।

माल्भिका र रियाजको अन्तरजातीय विवाह थियो । दुई परिवारको संस्कृति र परम्परामा धेरै फरक भएकाले पनि समस्या उब्जिएको माल्भिका बताउँछिन् । आफूले छोराको न्वारन साधारण तरिकाले गर्न चाहे पनि श्रीमान र परिवारको दबाबले उनीहरुकै रीतिरिवाजअनुसार गर्नुपरेको उनको भनाइ छ ।

‘म उहाँको परिवारलाई धेरै सम्मान गर्छु । सासूससुराले मेरो छोरा हुर्काउन एकदमै सपोर्ट पनि गर्नुभएको छ । तर, हामीबीच सांस्कृतिक र वैचारिक भिन्नता धेरै थियो । त्यसैले एडजस्ट हुन गाह्रो भयो’, उनले भनिन् ।

श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आफूले एक्लै छोरा हुर्काउनुपरेको माल्भिकाले सुनाइन् ।

उनले भनिन्, ‘पहिलो ६ महिना निकै सकस भयो । ४ महिनासम्म त मैले १६ घन्टा नसुतिकन एक्लै बच्चा हेरें । पहिलो ३ वर्ष उसले राम्रोसँग मसित कम्युनिकेट गर्दैनथ्यो । जहिले पनि झगडा पर्थ्यो ।’

छोरा २ वर्षको भएपछि आफूले श्रीमानको घर छाडेको उनले बताइन् । यो उनको एकल निर्णय थियो ।

‘असाध्यै सफोकेसन भएपछि म घर छोडेर हिँडें । मेरो त्यो निर्णयमा माइती परिवार पनि सहमत हुनुहुन्थेन । ३(४ वर्षसम्म मैले एक्लै संघर्ष गरेर छोरालाई हुर्काएँ’, उनले भनिन् ।

भावविह्वल हुँदै माल्भिकाले भनिन्, ‘त्यसबेला मलाई २(३ जना साथीहरुबाहेक कसैको सपोर्ट थिएन । परिवारले पनि मलाई बुझेन । बाँच्न पनि मन लाग्दैनथ्यो । आत्महत्याको सोच आइराख्थ्यो । तर, छोराको लागि जसरी पनि बाँच्नुपर्छ भन्ने ठानें । वास्तवमा भन्नुपर्दा म छोराकै कारण आज जीवित छु ।’

आफूले पहिल्यैबाट केही रकम बचत गरेकाले एक्लै बाँच्न सम्भव भएको उनले बताइन् ।

‘मैले घर छोडेर अञ्जान ठाउँमा जसोतसो सेटअप गरें । निकै गाह्रो भएको थियो सबै एक्लैले म्यानेज गर्न । ९भक्कानिँदै० एकजना साथीले राइसकुकर ल्याइदियो, अर्को साथीले प्लेटहरु ल्याइदियो । मैले सेकेन्ड ह्यान्ड फर्निचर किनें । किनकि नयाँ किन्ने क्षमता थिएन’, माल्भिकाले सुनाइन्, ‘श्रीमानको घर नजिकै डेरा लिएर बसेकी थिएँ । छोरालाई बुवा र उनको परिवार भेट्न सहजै होस् भनेर नजिकै बसेको हो । स्कुलबाट घर ल्याउँदा उसको घर भएर गुज्रिनुपर्थ्यो । त्यतिबेला सधैं घर जाने भनेर रुन्थ्यो । कहिलेकाहीं मैले गल्ती त गरिनँ भने जस्तो पनि लाग्थ्यो । राति सुत्दा सोच्थें, मेरो लाइफ कस्तो हुनुपर्ने, कस्तो भयो । तर, फेरि आफूलाई बलियो बनाउँथें ।’

‘म टेलिभिजनमा ‘जीवनसाथी’ भने गरिरहेको थिएँ । टेलिभिजनको पर्दामा पीडा लुकाउनुपर्थ्यो । मुस्कुराएर अतिथिलाई स्वागत गर्नुपर्थ्यो । अरु दम्पतीको कथा सुन्थें । उनीहरुको रोमान्टिक कुराहरु खोतल्थें । तर, आफ्नो विवाह बिग्रिएको थियो । कमेन्टमा कतिपयले लेखेको पनि देख्थें( आफ्नै सम्बन्ध टिकाउन नसक्नेले जीवनसाथी चलाएको भनेर । यस्ता कमेन्टहरुले पनि मानसिक रुपमा म विक्षिप्त हुँदै थिएँ । मलाई पोस्र्टमार्टम डिप्रेसन नै भयो ।’

चार वर्षसम्म अलग बसेपछि माल्भिकाले औपचारिक डिभोर्स गर्ने निर्णय लिइन् । उनीहरुले दुई वर्षअघि डिभोर्स गरेका हुन् । छोरालाई दुवैले ‘को प्यारेन्टिङ’ गरेर हुर्काइरहेका छन् । श्रीमानसँग सम्पत्ति केही पनि नलिएको माल्भिकाले बताइन् ।

डिभोर्सपछि आफूलाई रित्तो महसुस भएको माल्भिकाको अनुभूति छ ।

‘मैले सोचिविचारी निर्णय लिएको हो । तर, डिभोर्सपछि आफूलाई एक्लो फिल चाहिँ भयो । आई फेल्ट सो इम्पटी । त्यसबेला पनि सुसाइडल थट नआएको होइन’, उनले सुनाइन् ।

गत वर्ष माल्भिका एउटा कन्ट्रोभर्सीमा परेकी थिइन्, जतिबेला उनी आफैं निकै डिप्रेस्ड अवस्थामा थिइन् । सन् २०१४ मा भएको एउटा सौन्दर्य प्रतियोगिताकी एक प्रतियोगीले आफूमाथि यौन हिंसा भएको र त्यसबेला माल्भिकाले पनि साथ नदिएको बयान दिएपछि माल्भिकालाई सामाजिक सञ्जालमा गालीगलौज भएको थियो ।

‘भर्खरै डिभोर्स भएको हुनाले म आफैं एउटा खराब मानसिक अवस्थाबाट गुज्रिरहेको थिएँ । त्यसमाथि त्यो कन्ट्रोभर्सी थपियो । त्यसले गर्दा नै मैले आफ्नो निजी जीवनको कुरा बाहिर ल्याउनु परेको हो’, उनले भनिन् ।

अहिलेको अवस्थामा आउन आफूलाई चार वर्ष लागेको उनले बताइन् । अहिले भने पूर्वश्रीमानसँग मिलेर ‘को प्यारेन्टिङ’ गरिरहेको माल्भिकाको भनाइ छ ।

(नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्