खाने तेलका लागि बर्सेनि बाहिरिन्छ २० अर्बभन्दा बढी रकम

सरिता थारु
  • ख-
  • ख+

काठमाडौँ । खाने तेलका लागि नेपालबाट बर्सेनि २० अर्ब बढी रुपैयाँ बाहिरिने गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै १ करोड १८ लाख किलो तेलजन्यबाली आयात भएको भन्सार विभागको तथ्याङ्क छ । सो बराबर १० अर्ब ७३ करोड ६९ लाख ८६ हजार रुपैयाँ बाहिरिएको छ ।

यस्तै, गत आर्थिक वर्षमा २०७९/०८० मा २३ करोड किलोको तेलजन्य बाली आयात भएको थियो । सो बापत २४ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबर रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ३७ करोड किलो बराबर तेलजन्य बाली आयात हुँदा ३२ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा भटमास, सूर्यमुखी, तोरी, बदाम, तिल लगायत विभिन्न तेलजन्य बाली आयात हुन्छ । ती बाली भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत विभिन्न मुलुकबाट आयात हुने भन्सार विभागको तथ्याङ्क छ ।

नेपालमा कति हुन्छ तेलबाली उत्पादन ?
नेपालमा करिब साढे एक लाख हेक्टर क्षेत्रफलमा तेलहन बालीको खेती हुँदै आएको छ । सोबाट वार्षिक रूपमा साढे २ लाख मेट्रिक टनको हाराहारीमा सो बाली उत्पादन हुँदै आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ६० हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । सो खेतबाट २ लाख ८७ हजार मेट्रिक टन तेलबाली उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ५९ हजार मेट्रिक टन तेलबाली उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा खेती भएको थियो । सो खेतबाट २ लाख ७८ हजार मेट्रिक टन तेलबाली उत्पादन भएको थियो ।

नेपालमा तोरी, सर्स्यु, रायो, बदाम, सूर्यमुखी र झुसेतिलको लगायत उत्पादन भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार तेलहन बालीहरूमध्ये तोरीबालीको ७७ प्रतिशत उत्पादनमा हिस्सा रहेको उल्लेख छ । तोरीबाली उत्पादन तथा क्षेत्रफलकै हिसाबले पहिलो स्थानमा छ । झुसेतिलको १ प्रतिशत उत्पादनमा हिस्सा रहेको मन्त्रालयले जनाएको छ । झुसेतिल अन्तिम स्थानमा छ । आर्थिक वर्ष २०७८/७९ मा २ लाख ८७ हजार मेट्रिक टन तेलहन बाली उत्पादन भएको छ । यो भनेको आर्थिक वर्ष २०७७/७८ भन्दा ०।११ प्रतिशतले मात्र बढी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा उत्पादन भएका तेलबालीको विवरण:

स्रोत: भन्सार विभाग

 तेलजन्य बालीमा व्यापार घाटा
नेपालले बाहिर मुलुकबाट तेलबाली आयात गर्दा व्यापार घाटा बेहोरिरहेको छ । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ९ अर्ब २१ करोड ११ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । १० अर्ब ७३ करोड ६९ लाख रुपैयाँको तेलजन्य बाली आयात गर्दा १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

यस्तै, गत आर्थिक वर्ष २०७९/०८० मा नेपालले २२ अर्ब ३६ करोड ४८ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । सो अवधिमा २४ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबरको तेलजन्य बाली आयात गर्दा १ अर्ब ९१ करोड २९ लाख रुपैयाँ मात्रैको सो बाली निर्यात गर्न सकेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३१ अर्ब १८ करोड ८ लाख व्यापार घाटा बेहोरेको छ । सो वर्ष नेपालमा ३२ अर्ब ९१ करोड १३ लाख रुपैयाँको तेलबाली आयात हुँदा १ अर्ब ७३ करोड ४ लाख रुपैयाँको मात्रै निर्यात गर्न सकेको छ ।

तेलजन्य बालीमा व्यापार घाटाको विवरण: 
स्रोत: भन्सार विभाग

साभारः रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्