व्यास नगर अस्पताल निर्माण गरिनेः खुसीयालीमा स्थानीयद्धारा दीप प्रज्ज्वलन

  • ख-
  • ख+

         

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. १० दुम्सीमा अस्पताल बन्ने भएपछि खुसीयालीमा स्थानीय वासिन्दाले दीप प्रज्ज्वलन गरेका छन् । व्यास नगरपालिकाले ‘‘व्यास नगर अस्पताल’’ निर्माण गर्ने निर्णय गरी वजेट विनियोजन गरेपछि शुक्रबार साँझ दिप प्रज्ज्वलन गरेका हुन् ।
उत्तरी क्षेत्रका सबै नागरिकले दमौली पुग्नु नपर्ने र आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा लिन सहज हने भएकोले खुसीयालीमा दीप प्रज्ज्वलन गरिएको स्थानीय वासिन्दाहरुले बताउनुभएको छ । आधारभुत स्वास्थ्य केन्द्र रहेको स्थानमा स्तरवृद्धि गरी २५ बेडको अस्पताल निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको छ । विद्यमान कोभिड–१९ को महामारीबाट प्राप्त तितो अनुभव र सिकाएको पाठलाई ध्यानमा राखि नगर अस्पताल बनाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । नगर अस्पतालको लागि चालु आर्थिक वर्षमा १ करोड रुपियाँ विनियोजन गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । सोही स्थानमा जिल्लाका १० वोटै स्थानिय तहहरूको संयोजनमा कोभिड–१९ को पिसिआर परिक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको थियो ।
अस्पताल निर्माणका लागि वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी २५ वेडको अस्पताल निर्माण गर्ने योजना अनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । अस्पताल निर्माण पछि वडा नं. १० का अतिरिक्त, उत्तरी भेगका वडाहरु नं. ५, ६, ७, ८ र ९ का वासिन्दाहरुलाई उपचारमा सहज हुने वडाध्यक्ष सापकोटा बताउनुहुन्छ । सो स्थान व्यास मार्गसँग जोडिएकोले उपचारको लागि सहज भएको उहाँले बताउनुभयो । त्यसैबीच व्यास नगरपालिकाले वार्ड नंम्बर ८ को बर्लाचीमा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने समेत निर्णय गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?