तनहूँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मंगलबार बन्दिपुर गाउँपालिकाकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मानवअधिकार संरक्षण र सम्बर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धी परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।
अध्यक्ष थापाले संविधानले मौलिकहकको रुपमा व्यवस्था गरेको यी विषयहरुलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको बताए्उनुभयो । शिक्षाको मुख्य जग नै प्राथामिक र आधारभुत तहको शिक्षा भएको हुँदा सबै प्रावि तहमा मन्टेश्वरी विधीको शिक्षा तथा धुलो रहित कक्षा कोठा तथा आधारभुत तहमा पुर्ण दरबन्दी तथा सुचना प्रविधिको पढाई सुरु एवं माध्यमिक
तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न आवासिय र बसको व्यवस्थापन सुरु गरिएको अध्यक्ष थापाले बताउनुभयो । त्यस्तै सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गन्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको
सरकारी अस्पताल, निशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड संक्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोसेलेसन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको अध्यक्ष थापाको भनाई थियो । जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको वहाँको भनाई थियो । बन्दिपुर अस्पतालको स्तरबृद्धी गरि ५० शैयाको बनाउने र मेडिकल शिक्षा समेत दिने गरि पुर्वाधारको निर्माण भईरहेको
कार्यक्रममा अध्यक्ष थापाले जानकारी दिनुभयो । कृषि क्षेत्रमा निकै धेरै बजेट विनियोजन गरिएको भन्दै थापाले गन्डकी प्रदेशमै पहिलो चक्लाबन्दीको कार्यक्रम बन्दिपुरबाट सुरु गरिएको बताउनुभयो । जनता आवास कार्यक्रम, खरको छानो विस्थापित कार्यक्रम, भुमिहिनलाई पनि आवास निर्माणकोलागि पुननिर्माण प्राधिकरणमा सिफारिस जस्ता काम गरिएको अध्यक्ष थापाले जानकारी दिनुभएको थियो ।
सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार जनताको सबैभन्दा महत्वपुर्ण अधिकार भएको हुँदा नीति तथा योजना बनाउँदा त्यसलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । ति अधिकारहरुको कार्यान्वयन गर्दा महिलालाई विशेष प्राथमिकतामा राखिएको वहाँले बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरुलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने र नीतिहरु बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।
मानवअधिकार समुह बन्दिपुरकी सदस्य शान्ती कुवँरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष हस्तबहादुर जिसी, वडा नम्बर ६ का अध्यक्ष सन्तबहादुर गुरुङ, कार्यपालिका सदस्य रनबहादुर चेपाङ लगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रमको सहिजकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।








