हुम्ला– हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएकाे छ ।
एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठमा पनि क्षति पुर्याएकाे चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए ।
चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।
गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।











