तनहुँ जिल्लाको व्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वीराज मार्गमा सोमबार करिब ११:५५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, डुम्रेबाट दमौलीतर्फ गइरहेको ग २२ प ३९८९ नम्बरको स्कुटर अगाडि सडकको बाँया पट्टी रोकी राखिएको बा १ क ८७१४ नम्बरको मिनिट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा व्यास नगरपालिका–१२ छिर्कन निवासीकरिब २७ वर्षीय सागर न्यौपाने र करिब ६० वर्षीया कृष्ण माया पन्त घाइते भएका थिए। दुवै जनालाई तत्काल रत्नहरी अस्पतालमा उपचारका लागि पठाइएकोमा सागर न्यौपानेको उपचारको क्रममा दिउँसो १२:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते कृष्ण माया पन्तलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको छ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अशोक थापाले जानकारी दिएका छन्।








