पोखरा, असार । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको सदस्यहरुमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना रानाभाट गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी निर्वाचित भएका छन् । संस्थाको विधान अनुसार अधिवेशनवाट १ जना अध्यक्ष र ७ जना सदस्यहरु निर्वाचित भएका हुन् । मञ्चको प्रदेश समितिमा १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । बाँकी ७ सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान छ ।

अधिवेशनमा निर्वाचन समितिका संयोजक अधिवक्ता विरेन्द्र केसीले संस्थाका निर्वाचित अध्यक्ष र सदस्यहरुको नाम घोषणा गरेका थिए । निर्वाचन समितिको सदस्यमा मुना बाँस्तोला र महेन्द्र अधिकारी रहेका थिए ।

संस्थाको विधान बमोजिम निर्वाचित अध्यक्ष कोइरालाले सुनिल उलक र बेबी श्रेष्ठ गोंगजूलाई सदस्य पदमा मनोनित गरेका छन् । बाँकी ५ जना सदस्य पछि मनोनित गरिने मञ्चका अध्यक्ष कोइरालाले जानकारी दिए ।

प्रथम अधिवेशन सम्पन्न पश्चात शनिवार नै बसेको पहिलो बैठकमा संस्थाका पदाधिकारी पनि चयन भएका छन् । मञ्चको विधानको दफा १३ को उपदफा १ अनुसार अध्यक्षले कार्यसमितिका पदाधिकारीहरु चयन गरेका हुन् । जस अनुसार कार्यसमितिको उपाध्यक्षहरुमा रमेश पौडेल र राजु अधिकारी, सचिवमा गीता आचार्य, सहसचिवमा हरि खनाल र कोषाध्यक्षमा मीना रानाभाट चयन भएका छन् । कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

यस अघि आयोजित मञ्चको वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रमको उद्घाटन संस्थाका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजन र गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष कपिलनाथ कोइरालाले संयुक्त रुपमा गरेका थिए । सोही अवसरमा बोल्दै मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले राज्य र समाजलाई ठीक ठाँउमा ल्याउनका लागि उपभोक्ता अधिकारकर्मी सजग हुनु पर्ने बताए । उनका अनुसार मञ्चले  उपभोक्ताको मात्र हित नहेरी व्यवसायीहरुको पनि हित हेर्छ भन्ने विश्वास जगाउन सकेको धारणा राखेका थिए ।

कार्यक्रममा मञ्चको गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले सामाजिक उत्तरदायित्वको भावना अनुसार निरन्तर उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील रहेको बताए । २१ वर्षको अवधीमा पहिलो पटक गण्डकी प्रदेशमा भेला आयोजना गर्न सकिएको जानकारी उनले दिए । उनले आफ्‌ना पिताको स्मरणमा गण्डकी  प्रदेश स्तरीय पुरस्कार स्थापना गरेको घोषणा पनि गरेका थिए ।

मञ्चले संचालन गर्ने पुरस्कारको राशी २५ हजार रुपैयाँ रहने सो अवसरमा जानकारी दिइएको थियो । गण्डकी प्रदेशभरका उत्कृष्ट कर्मचारी, अभियन्ता, व्यवसायी, पत्रकार, लेखक मध्येबाट हरेक वर्ष एक जनालाई सो पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रममा मञ्चका बाग्लुङ्ग जिल्ला अध्यक्ष शैलेन्द्र श्रेष्ठ, पर्वत जिल्ला अध्यक्ष सरिता भण्डारी, मञ्चका पूर्व केन्द्रीय सदस्य रामबहादुर केसीले मन्तव्य राखेका थिए । मञ्चको गण्डकी प्रदेश तदर्थ समितिका सचिव राजु अधिकारीले संचालन गरेको कार्यक्रममा गण्डकी प्रदेश तदर्थ समितिका उपाध्यक्ष रमेश पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।