नेपाल जित कुन-दो मार्सल आर्ट संघ भारतको ‘जित कुन-दो मार्सल आर्ट एसोसिएसन (इन्डिया)’ द्वारा आयोजित ‘इन्डो-नेपाल एसडीटी स्ट्रिट डिफेन्स टुर्नामेन्ट २०२६’ मा सहभागी हुने भएको छ ।
उक्त प्रतियोगिता भारतको मुम्बईमा आगामी २०२६ मे २२, २३ र २४ तारिखमा आयोजना हुनेछ । प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल जित कुन-दो मार्सल आर्ट संघका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवबहादुर थापाको नेतृत्वमा टोलीले सहभागिता जनाउनेछ । रेफ्रीको जिम्मेवारी दीपेन्द्र श्रेष्ठ र कुमार बस्नेतले सम्हाल्नेछन्। टोली व्यवस्थापक टोखा नगरपालिका खेलकुद विकास समितिका सदस्य सविन श्रेष्ठ रहनेछन्।
यसैगरी, पुरुष खेलाडीको रुपमा विजय थापा, विवेक थापा, आयुष श्रेष्ठ, सञ्जीव माझी, पितम्बर मगर र राजेन्द्र थापा छनोट भएका छन् ।
यस्तै महिला खेलाडीको रुपमा निर्मला मगर, जमुना बिक., सारिका नेपाली, फुमिको तामाङ र निलम कोइराला रहने भएका छन् । टोलीको स्वास्थ्य सेवाका लागि डा. सृजना खड्का (नर्स) रहने छिन्।
भारतीय आयोजक सिफु एमआर सलमानीले नेपाली टोलीको सहभागिताले दुई देशबीच मैत्री तथा सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।










