बलात्कार प्रयासको पोल खुल्ने डरले ९ बर्षिय बालिकाको हत्या

  • ख-
  • ख+

सप्तरी । सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको छ । असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो ।

प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ ।

यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए । यादवविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको उनले बताए ।

प्रहरीका अनुसार गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए । बहिनी बाख्रा हेर्न गएका बेला शिवानी आँप लिने छिमेकीको बगैंचामा गएकी थिइन् । त्यही बेला भेटिएका रोहितले आँप दिने लोभ देखाएर करणी प्रयास गरेको एसपी धमलाले बताए ।

करणीको प्रयासबारे आमालाई भनिदिने भनेपछि रोहितले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको धमलाको भनाइ छ । उनका अनुसार रोहितले हत्या आरोप स्वीकार गरेका छन् । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्