 
                                     
								तनहूँ । पल शाहविरुद्ध आज तनहूँ जिल्ला अदालतमा मंगलबार जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्याइएको हो ।
तनहूँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अदालतमा अभियोग पत्र दर्ता गरिएको पुष्टि गरे । अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।
शाहविरुद्ध यसअघि पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ । पीडित भनिएकी नाबालिगले दुवै जिल्लामा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । तनहूँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वी नवलपरासीको मुद्धाको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।
तनहूँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको त्यहाँ बयान हुने छ । त्यसपछि थुनछेकको बहस सकेर न्यायाधिशले पुर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् ।
तनहूँको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रक्रिया अगाडि बढ्न सक्ने छ । पूर्वी नवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


