 
                                     
								
तनहूँ जिल्लामा हाल हुनुभएका जनप्रतिनिधिहरु मध्ये कसैलाई आफुले अब्बल काम गरेको छु भन्ने लाग्छ भन्ने माथिल्लो पदमा जानुस् होईन भने फेल भएको विद्यार्थीझैं एउटै पदमा फेरि फेरि बस्ने ईच्छा व्यक्त नगर्नुस् किनकी जनप्रतिनिधि भएर काम गर्न असफल भएको व्यक्तिमात्र उहि पदमा फेरि निर्वाचनमा उठ्दछ ।
औपचारिक होस् कि अनौपचारिक कार्यक्रममा होस् तनहूँका स्थानिय निकायका अधिकांश जनप्रतिनिधिहरुलाई कस्तो छ त कार्यकाल ? भनेर सोध्यो भने एकैसासमा दुःखको पहाड बिसाउनुहुन्छ र भन्नुहुन्छ ”के भन्नु भनिसाध्य छैन न घर भन्न पाईएको छ , न घरपरिवार ? न व्यापार न व्यवसाय, दिन रात केहि भन्न पाईदैन, कसैले ल न हजुर मेरो श्रीमती सुत्केरी हुन लागि एम्बुलेन्स भनिदिनुपर्यो भन्छ , कसैले मेरो बाख्रीले बोको खोज्यो बन्दिपुर ल्याएको छु गेट नै खोलेन हाकिमलाई भनिदिनु पर्यो भन्छ, कसैले ट्राफिकले लाईसेन्स समात्यो भनिदिनुपर्यो भन्छ , कसैले यसो रमाईलो गरौ भनेर तास खेल्न बसेको पुलिसले पैसा सहित समात्यो भन्छ , कसैले तपाई चाँहि मालामाल हामी भने काम नपाउने ? अर्को चुनाव आवोस् न त हेरौला भन्छ , कसैले हाम्रोतिर खोई त बिकास भन्छ , कसैले मेरो मान्छेलाई जागिर दिनुपर्यो नि के काम लाग्यो भोट दिएको भन्छ, ह्या यस्तो जावो जनप्रतिनिधि हुने काम शत्रुले पनि नगरोस् ।” तर जब जब निर्वाचनको घोषणा हुन्छ तिनै दुःखको पहाड बिसाउने जनप्रतिनिधिहरु टिकट ल्याउन यसरी लाग्नुहुन्छ कि दुनियाँ दंग पर्दछ । उहाँहरुलाई हिजोसम्म फुटेको आँखाले पनि देख्न नसकेको अर्को गुटको नेता प्यारो लाग्दछ भने अर्को गुटको कार्यकर्ता देख्दा बटारिने टाउको ”आज के गर्ने यस्तै रहेछ यसो आउनु नि कहाँ के गर्नुपरेको छ म गर्छु नि” भन्न थाल्नुभएको छ । हिजो सत्तोसराप गरेका अर्को गुटका नेताहरुको गुणगान गाउन थाल्नुभएको छ । उहाँहरुलाई लाग्दैछ म नभए म निर्वाचनमा नउठे मेरो पार्टीले निर्वाचन नै जित्दैन, म भन्नु नै सिगों पार्टी हो । मैले नगरपालिकाको मेयर, उपमेयर गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष वडाको अध्यक्ष, वडा सदस्य भएर, कार्यपालिका सदस्य भएर नै यो सब् भएको हो म नहुने भए भने सब् खत्तम हुन्छ । पार्टी सिद्धिन्छ , त्यतिमात्र हो र संघियता नै सिद्धिन्छ । उहाँहरुमा त्यस्तो भ्रम छ तर यथार्थ अलि फरक रहेको छ ।
हो उहाँहरुले टिकट पाउनुभएन भने उहाँले जित्नुभएन भने सर्वसाधारणको जिवनमा होईन उहाँको जिवनमा अवश्य केहि फरक पार्नेछ । हुन त जनप्रतिनिधिहरु मध्ये धेरैजना गाडि चढ्न सक्ने हैसियतको हुनुहुन्छ वा आफुलाई बनाईसक्नुभएको छ भने जनप्रतिनिधि भईसकेपछि मोटरसाईकल वा स्कुटर चढ्न नसक्ने त शायदै कोहि हुनुहुदैन होला ! तैपनि सरकारी मोटरसाईकल दाईजोमा पाएको भन्दा पनि बढि कुदाउनु , आफ्नो कार्यालयको काममाभन्दा बढि व्यक्तिगत काममा प्रयोग गर्नुको मजा जनप्रतिनिधि नहुँदा कहाँ पाईन्छ र ? अनि जनताको राजश्वमा तर मारि मारि तेलको कुपन मैले कुपन ल्याईदिएको छु पेट्रोल पम्पमा गएर तेल हाल्नु , यसो विचार गर्नु पत्रकार सत्रकारले देख्लान् भन्दै छोराछोरीलाई दिनुको मजा जनप्रतिनिधि नहुदाँ कहाँ पाईन्छ र ? जनताको सेवा गर्छु भनेर आएको तर जागिरे भएर तलब अनि अचम्मसग भत्ता बुझ्नुको मजा टिकट नपाए पश्चात घर बस्दा कहाँ भेटिन्छ र ? अनि जनप्रतिनिधि हुदाँको रजगज वालुवा, खानी, ढुगां खानी, गिटी खानी, बाटो पिच गर्ने ठेकेदार, नाम अरुको काम आफ्नो ठेक्कापट्टा, बजेट आफुले विनियोजन गर्यो डोजर नाम श्यामेको पैसा आफ्नो गोजीमा आउने डोजर, mजताततै आफ्ना भजन गाउनेहरुको नियुक्ति, जागिर माग्नेहरुको नमस्कार, प्रमुख अतिथि बनेर माला लगाउदै हिड्नुको मजा कहाँ पाईन्छ र टिकट नपाएर घरमै खुम्चिएर बस्नुपर्यो भने ?
भन्न त फेरि एकपटक मलाई जनप्रतिनिधि हुने मौका दिनुहोस् म आफ्ना अधुरा योजनाहरु पुरा गर्छु भनेपनि तनहूँमा खासै त्यस्ता योजनाहरु लागु भएका छैनन् जो तिनै जनप्रतिनिधि नदोहोरिएमा सम्पन्न नहुन् । हो जनप्रतिनिधिबाट झरेपछि म के गर्ने भन्नेमा अधिकांश जनप्रतिनिधिहरुमा संशय छ । हिजोको शानशौकत, सरकारी सम्पत्तिमा गरेको मोजमस्तिको ह्यांग उत्रन गारै पर्नेछ तर पनि उहाँहरुले मैले टिकट नपाए, म नभए धर्ति फाट्छ भन्नुको केहि अर्थ रहदैन किनकी प्रत्येक पार्टीमा एकसे एक त्याग तपस्या गरेका, कहिल्यै लाभको पदमा पुग्ने मौका नपाएका, निर्वाचन जित्न सक्ने ल्याकत भएका तमाम मान्छेहरु हुनुहुन्छ त्यसैले अहिले निर्वाचित भएका जनप्रतिनिधिहरुले अरुलाई पनि गाडि, मोटरसाईकल, स्कुटर चढ्ने , त्यो कुर्सिमा बस्ने मौका दिनुपर्दछ के थाहा कुनै दिन ओहो अहिले चुनिएर आएको जनप्रतिनिधिभन्दा त नयाँ जनप्रतिनिधि उदाहरणिय हुनुहुदो रहेछ , तलबभन्दा यसो मिलाएर बढि बुझिने भत्तामा लोभ नगर्ने , म कुनै पार्टीको मान्छे होईन जनताको मान्छे हुँ भन्दै बजेटको समान वितरण गर्ने, आफ्नो गुटका मान्छेलाई मात्र च्याप्ने होईन सबैलाई समान व्यवहार गर्ने, रिवन काट्नको लागि मात्र होईन योजना पुरा गर्नको लागि उद्धघाटन गर्ने , कमिशनको लोभमा डिपिआर बनाउने होईन पुरा हुनसक्ने योजनाको मात्र डिपिआर बनाउनुु हुदोरहेछ भनेर प्रशंसा गर्न पाईन्छ कि ?
अबको निर्वाचनमा एकपटक जनप्रतिनिधि भएर कुर्सिको स्वाद भाँखेकालाई होईन भिजन भएका नयाँलाई मौका दिउ किनकी एकजना वरिष्ठ महानुभावले भन्नुभएको छ ‘‘फेल भएको विद्यार्थीले पो उहि कक्षा दोहोर्याउछ यदि तनहूँ जिल्लामा हाल हुनुभएका जनप्रतिनिधिहरु मध्ये कसैलाई आफुले अब्बल काम गरेको छु भन्ने लाग्छ भन्ने माथिल्लो पदमा जानुस् होईन भने फेल भएको विद्यार्थीझैं एउटै पदमा फेरि फेरि बस्ने ईच्छा व्यक्त नगर्नुस् किनकी जनप्रतिनिधि भएर काम गर्न असफल भएको व्यक्तिमात्र उहि पदमा फेरि निर्वाचनमा उठ्दछ ।”
(शिर्षक परिवर्तन गरिएको )

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


