समृद्ध भानु बनाउने अभियानमा मेयरका उमेदवार श्रीराम पौडेल

  • ख-
  • ख+

तनहूँ । ऐतिहासिक, साहित्यिक र पुरातात्विक महत्व बोकेको तनहूँको भानु नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट मेयरको उमेदवार बन्ने श्रीराम पौडेलले घोषणा गरिसक्नुभएको छ । उनलाई पार्टीको जिल्ला समितिले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार घोषणा पनि गरिसकेको छ । पार्टीको यो निर्णयसँगै पौडेल यतिबेला भानु नगरपालिकाका विभिन्न क्षेत्रमा चुनावी क्रियाकलापमा व्यस्त हुनुहुन्छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई जिताउने र आफू पनि मेयरमा जित्ने लक्ष्यका साथ उहाँ निर्वाचन कार्यक्रममा सक्रिय रुपमा लागिरहनुभएको छ । उहाँ यतिवेला कार्यकर्ता भेटघाट, मतदाता भेटघाट, पार्टी संगठन विस्तार, निर्वाचन केन्द्रीत सम्पर्क कार्यालय स्थापना र अन्य सामाजिक कार्यमा पनि व्यस्त हुनुहुन्छ । अर्को शब्दमा भन्दा भानु नगरपालिकामा उहाँको सक्रियता निक्कै लोभलाग्दो छ ।
उहाँ राजनीतिले व्यक्तिको स्वभाव, परिवार, समाज र देश परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । गाउँगाउँ डुल्दा आम जनतामा निराशा मात्रै पाएको भन्दै पौडेल राजनीतिकै मार्फतबाट जनतामा आएको निराशालाई खुसीमा परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुहुन्छ ।
के छन् पौडेलका योजना ?
भानु नगरपालिकालाई समृद्ध बनाउन आफू सक्षम र योग्य उम्मेदवार रहेको दाबी गर्ने श्रीराम पौडेलले केही योजना सार्वजनिक गरिसक्नुभएको छ । ‘आत्मनिर्भर भानु, स्वाबलम्बी भानुबासी, जनविकासका लागि नेकपा एकीकृत समाजवादी’ नारा तय गर्नुभएको छ उहाँले । मेकिङ भानु (भानु बनाउने) अभियान पनि उहाँले सुरु गर्नुभएको छ । भानु नगरपालिकालाई देशकै समृद्ध, नमुना र रोजाईको नगर बनाउने ध्याउन्नले यो नारा तय गरिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ मेकिङ भानु (भानु बनाउने) हाम्रो मुख्य ध्याउन्न हो । भानु नगरपालिकालाई देशकै समृद्ध, नमुना र रोजाईको नगर बनाउन नगरको मुख्य नारा नै मेकिङ भानु तय गरिएको छ ।’ भानु नगरपालिकालाई समृद्ध र नमुना बनाउन स्वदेशी तथा विदेशी लगानी जुटाउने र आगामी पाँच वर्षभित्र देशकै एक नम्बर नगरपालिका बनाउने उहाँको लक्ष्य छ ।
पाँच छ जना परिवारका सदस्य भएको घरमा एक जनाको कमाईले परिवार पाल्न गाह्रो छ । त्यसैले परिवारलाई नै रोजगारी, व्यवसाय र सेवामार्फत स्वाबलम्बी बनाउने पाि उहाँको लक्ष्य छ । उहाँ भन्नुहुन्छ ‘भानुका नगरका सबै परिवारलाई उद्यमशील बनाउने लक्ष्य छ । जसका लागि एक घर एक व्यवसाय अभियान सञ्चालन गर्र्दैछु ।’ भानुबासीको स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने योजना पनि उहाँका छन् । पर्यटन, संस्कृति, साहित्यको क्षेत्रमा पनि आमूल परिवर्तन गरी नगरलाई समृद्ध बनाउने उहाँका योजना छन् ।
कृषि र पशुपालनबाट नै नागरिकलाई धनी बनाउन शुरुको दुई वर्षमै कृषि उत्पादन दोब्बर बनाउने गुरु योजना, नीति तथा कार्यक्रम लागू गर्ने, संघीय सरकारबाट वितरण हुने समाजिक सुरक्षा भत्तामा नगरले सतप्रतिशत थप गरी बैंकमार्फत भुक्तानीको व्यवस्था गर्ने, नगरपालिकालाई पाँच वर्षभित्र डिजिटल भानु बनाइने छ भने सबै घरमा निशुल्क वाइफाइ सुनिश्चित गर्ने, नयाँ सडक खन्ने नाममा हचुवामा जथाभावी डोजर नचलाइने , डाँडामाथि भ्यु टावर नबनाउने, रिङरोड निर्माण र नगरबस सञ्चालन गर्ने लगायतका थुप्रै योजना रहेको उहाँ सुनाउनुहुन्छ ।
को हुन् श्रीराम पौडेल ?
श्रीराम पौडेल काठमाडौँमा शैक्षिक र सामाजिक क्षेत्रमा चिनिएको नाम हो । उनी शैक्षिक परामर्श व्यवसायमा क्रियाशील हुनुहुन्छ भने विभिन्न विद्यालय तथा कलेजका सञ्चालक पनि हुनुहुन्छ । उहाँले नेपाल शैक्षिक परामर्श संघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत बहन गरिसक्नुभएको छ ।
पौडेल बालाजु जेसिजका संस्थापक अध्यक्ष हुनुहुन्छ भने २०१७ को ट्रेनिङ कमिस्नार तथा नेपाल जेसिज २०१८ को महासचिव पनि हुनुहुन्छ।
हाल उनी नेकपा एकीकृत समाजवादी तनहुँका सचिवालय सदस्य रहेका छन् ।
श्रीराम पौडेल समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। उहाँले समय समयमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग पनि गरिरहनुभएको छ । मानव सेवा आश्रमलगायतका आश्रयस्थलमा खाद्यान्न, लत्ताकपडासहित शिक्षा र स्वास्थ्यमा पनि उहाँले खर्च गर्ने गर्नुभएको छ ।
गठबन्धनको अफ्ठ्यारो
गठबन्धनले कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाइ सकेको छैन भने समाजवादीकोतर्फबाट पौडेललाई मेयरमा सिफारिस गरे पनि गठबन्धनका कारण पौडेलले मेयर पद पाउने कि नपाउने हुन् हेर्न बाँकी नै छ । गठबन्धन गर्दा वीन वीनको स्थितिमा गर्नुपर्ने र एकले जित्ने र अर्कोले हार्ने किसिमले गठबन्धन गर्न नहुने उहाँ बताउनुहुन्छ ।
यदी गठबन्धनले समाजवादीलाई मेयर पद दिए पौडेल स्वतः उम्मेदवार बन्ने पक्कापक्की भएको छ । तर गठबन्धनले मेयरमा अन्य पार्टीलाई दिए उहाँको सम्भावना के भन्ने विषयमा छलफल चलिरहेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘भानुमा हामीले छाड्नु हुँदैन भन्ने दबाब बढाइरहेका छौँ । तर अन्तिम अवस्थामा गठबन्धनको निर्णय मान्नु पर्छ ।’ समाजवादीले मेयर पाए पनि नपाए पनि पार्टीलाई जिताउने आफ्नो दायित्व भएको उहाँले बताउनुभयो ।
यसअघि भानु नगरपालिका कांग्रेसले जितेको थियो त्यसैले यो पटक पनि कांग्रेसले नै दाबी गर्नु स्वभाविक हो । तर समाजवादीलाई मेयर दिए आफू व्यक्तिगत मतले पनि जित्नसक्ने र गठबन्धनको साख बचाउने पौडेलको दाबी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्