पश्चिम नेपाल गण्डकी क्षेत्रमा अवस्थित चौविसे राज्य अन्तर्गतको एक तनहुँ राज्यको राजधानी तनहुँसुर भौगोलिक रुपमा उच्च स्थानमा तीनवटा चुचुराहरु मध्येको बीचको भागमा अवस्थित यो स्थान हालको मापन अनुसार समुद्रको सतहवाट करिब १२४५ मिटर उचाईमा अवस्थित छ । यस राज्यको नामाकरण यिनै तीन चुचुराको अवस्थितिका आधारमा ‘त्रि’ र ‘तुङ्ग’ संस्कृत शब्दांशको संयोजनबाट भएको जसमा ‘त्रि’को अर्थ तीन र ‘तुङ्ग’को अर्थ चुचुरा भन्नेबाट तीनचुचुरा भएको स्थान भन्ने हुन्छ । यसै त्रितुङ्गबाट अपभ्रंश र रुपान्तरित हुँदै तनहुङ्, तनहौं, तनुङ् र तनहुँ बन्न गएको मान्यता रहेकोछ । यस स्थानको उत्तरतर्फ अन्नपूर्णा र हिमालचुली समेत रहेका लामो हिमश्रृङ्खला देख्न सकिन्छ । स्थानीय रुपमा सिम्पानी, समजुर, मिर्लुङ बयापानी, चोकचिसापानी क्षेत्र, लमजुङ्का रागिनासकोट, प्याराजुङ्, इलमपोखरी, दुधपोखरी, चेपेघाट समेतका स्थानहरु देखिन्छन् । त्यस्तै पूर्वी भेगका स्थानहरुमा गोरखाको लिगलिगकोट, गोरखा दरवार तथा चेपे र मर्स्यांग्दी नदीहरु देखिन्छन् । दक्षिणपूर्वमा बन्दिपुर क्षेत्र, छिम्केश्वरी पर्वतको सहल दृश्वावलोकन गर्न सकिन्छ । पश्चिम तर्फ कास्कीको साराङ्कोट, कास्कीकोट, पोखराको फेवा समेतका तालहरु आँखाको दृष्टिमा पर्नजान्छन् । यस राज्यको भोगोलिक क्षेत्र र सिमाना लिदा पश्चिम पाल्पा, कास्की र पर्वत, उत्तरमा लमजुङ, पूर्वमा गोरखा तथा दक्षिणमा छिम्केश्वरी समेतको महाभारत क्षेत्र, चितवन, माडी, ठोरी क्षेत्र समेतको चारकोशे झाडी भएर भारतको विहार–रामनगरसम्म विस्तारित रुपमा ठूलो भू–भाग समेटेर रहेको एक शक्तिशाली राज्य रहेको मानिन्छ ।
पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनले वि.सं.१६०० तिर तनहुँलाई आफ्नो राज्यमा मिलाएका थिए । उनको मृत्यु पश्चात् उनका साहिला छोरा भृङ्गी सेनले वि.सं १६१० मा तनहुँलाई स्वतन्त्र राज्य र तनहुँसुरलाई राजधानी घोषणा गरी यहाँको पहिलो राजा भएका थिए । यस बंशका शासकहरुमा पहिलो र संस्थापक भृङ्गी सेन (वि.सं. १६१०–१६२८) यसपछि क्रमसः हंमवीर सेन (वि.सं. १६२८–१६८७) त्रिविक्रम सेन÷ तुला सेन ( वि.सं.१६८७–१७१०), दामोदर सेन (वि.सं. १७१०–१७५३), दिग्विजय सेन (वि.सं. १७५३–१७७१), कामराजदत्त सेन(वि.सं.१७७१–१७९८), त्रिविक्रम सेन द्वितीय (वि.सं.१७९८–१८२६), कामरीदत्त सेन (वि.सं.१८२६–१८२७) र हरकुमारदत्त सेन (वि.सं. १८२७–१८३९) अन्तिम राजा समेत नौ पुस्ताले शासन गरेको ऐतिहासिक प्रमाण भेटिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने अभियानमा तनहँु, लमजुङ समेतका पश्चिमी राज्यहरुसँग सम्वन्ध स्थापना गरी पूर्वका राज्यहरुको विजय अभियान चलाई त्यस क्षेत्रको पहिलो अभियान सफल भएपछि पश्चिम अभियानका क्रममा तनहुँ पहिलो निसानामा परेको थियो ।
पृथ्वीनारायण शाहको मृत्यु पश्चात् बहादुरशाहले नायवी चलाएका समयमा तनहुँराज्य माथि आक्रमण हुँदा तनहुँका राजा कामरीदत्त सेनसँग उनको कपट युद्ध भएको थियो । गोरखालीहरुले पहिले बिना हातहतियार सल्लाहका लागि भनी चुँदी र लादीखोलाको दोभान म¥याङ्गघाटमा भेटहुने निधोभए अनुसार भएको भेटमा गोरखाली सेनाले कुटिल विचारले बालुवामा पहिल्यै लुकाई राखेका हतियारले तनहुँङ्गे सेना माथि एक्कासी आक्रमण गर्दा धेरै तनहुँङ्गेसेना हताहत भई मारिएकाहरुको लादीले त्यहाँको खोलोमा बाढी समेत आएकाले त्यस खोलाको नाम लादीखोलो रहन गएको लोकोक्ती रहेकोछ । त्यस कपटपूर्ण युद्धमा पराजित भएका राजा कामरीदत्त सेनले राजधानीमा गई रक्तरञ्जित हस्तपञ्जाको निसानछाप इष्टदेवी कालिकाका सामु लगाई आत्महत्या गरेका थिए भनिन्छ । यस कपटी चालले विजयी भएका गोरखालीको विरुद्ध कामरीदत्तका छोरा हरकुमारदत्त सेन कास्की र पर्वत समेतका पश्चिमी राज्यहरुको सहयोगले पुनः राज्यकायम गरी राजा भएको प्रमाण इतिहासमा पाइन्छ । पछि राजेन्द्र लक्ष्मीको नायवीकालमा वि.सं १८३९मा गोरखालीको आक्रमणमा परी पराजित भई सदाका लागि तनहुँ राज्यको पतन भई विशाल नेपालमा विलय हुनपुगेको तथ्य इतिहासले देखाउँछ । यसरी तनहुँ राज्य वि.सं १६१० देखि वि.सं १८३९ सम्म करिब २२९ वर्ष अस्तित्वमा रहेको देखिन्छ ।
तनहुँराज्यका प्रमुख ऐतिहासिक स्थलहरु र तिनको व्यवस्थाः
तनहुँसुर दरबार क्षेत्र: यस तनहुँ राज्य अन्र्तगत प्रमुख स्थानहरुमा राजधानी रहेको तनहुँसुर दरबार क्षेत्र मध्य चुचुरो जहाँ राजपरिवारको निवास राजदरवार र इष्टदेवी कालिकाको मन्दिर तथा विष्णुमहादेवको मन्दिर रहेका थिए । यहाँका काली र विष्णुमहादेवको मन्दिरमा दर्शन र नित्यपूजाआजा गरिन्थ्यो ।
गद्दीचौतारोः राजदरबारको थोरै तल पश्चिम तर्फ रहेको यस स्थानबाट राजाले शासन व्यवस्थाका विषयमा विभिन्न कुराहरुको घोषणा र आदेश दिने प्रसिद्ध चौतारो जुन आज पनि इतिहासको साछी बनेर बसेकोछ ।
टुँडीखेल: यो स्थान दराबार देखि उत्तरपूर्व केही तल अवस्थित छ, यहाँ सैन्य तालिम र परेड खेलाउने कार्य हुनेगर्दथ्यो भनिन्छ ।
सुरक्षा क्षेत्र: राजदरबारको चारैतिरका सात स्थानका नाका र गौंडाहरुमा सुरक्षाकर्मी रहने सुरक्षाका लागि हातहतियार र गोलाबारुद तथा ढुँङ्गाहरु संङ्कलन गरी राखिएका हुन्थे, जो आजपनि देख्न सकिन्छ ।
पानीको इनार: राजदरबारको पानीको आवश्यकतालाई पूरागर्न व्यवस्था गरिएको दरबार नजिकै शुद्ध खानेपानीको एक इनार रहेको थियो र हालसम्म पनि कायमै छ । संरक्षणको अभावमा हराएर जाने अवस्थामा पुगेको छ ।
तोपखाना: राजदरबारको पश्चिमपट्टी खुला चउरमा तोप राख्ने स्थान थियो, यसलाई तोपखानाको रुपमा रहेको मानिएको छ । जहाँ तोपहरु राखिने गरिएका थिए । अझै पनि त्यहाँ तोपको अवशेष देख्न पाइन्छ ।
गोप्य ढुकुटीस्थान: यो स्थान राजाको ढुकुटी राख्ने स्थान नभई गोरखाली सेनासँग युद्धमा पराजित भएपछि त्यहाँको राजकोष गोरखालीले लुटेर लैजालान् भनेर राजाको भँडारेरहेका रुपमा रहेका मूल थरका एक नेवारले रातारात राज्यको ढुकुटी सारी गद्दीचौतारो नजिक रहेको आफ्नै घरको एक कोठामा लुकाई बन्दगरी राखेका थिए अरे, सो कोठा हालसम्म पनि बन्दैरहेको कुरा चर्चाको विषय रहेको छ ।
ऐनाढुङ्गा: राजदरवारको उत्तरपूर्व पट्टी केही तल जहाँ ऐना जस्तै टल्कने विशाल ढुङ्गा रहेको यियो, यसैमा हेरेर दरवारमा रही रानीहरुले कपाल कोर्ने समेतका श्रृङ्गारका कार्य गर्दथे भनिन्छ । यो पनि रहश्यको विषय हो, अनुसन्धानयोग्य छ ।
शिलखाना: यो दरबार क्षेत्र भन्दा अति तलपट्टी भगवती पानीको नजिकै तथा रानीस्वाराको पुछारमा रहेको बारुद बनाउने स्थान हो । बारुद समेतका विष्फोटक पदार्थको उत्पादन, परीक्षण र भण्डारण गरिन्थ्यो भनिन्छ ।
तनहुँसुर हटियाः यो राजधानीको प्रमुख बस्ती तथा राजाका भारदार र दरबारका सहयोगी, उद्योगी तथा व्यापारीवर्गको बसोवास भएको प्रमुख स्थान हो । यहाँ समय–समयमा हाट समेत लाग्ने भएकाले हटिया नामले समेत परिचित थियो । यस स्थानमा अधिकाँश नेवार जातिको बसोवास रहेको थियो । यो स्थान राज्यको औद्योगिक र व्यापारिक क्षेत्र समेत रहेको थियो ।
भगवती देवीको स्थान: राजदरवारको दक्षिण पश्चिमपट्टी केहीतल रहेको, यो स्थान भगवती पानीका नामले प्रसिद्ध देवस्थल छ । यहाँ भगवती देवीको नित्यपूजाको व्यवस्था भएको थियो र आज पनि चलिरहेको छ । राजाहरु दरबार क्षेत्रमा रहेकी कालिका तथा विष्णु र महादेवको दर्शन गरी अलिक फुर्सदका समयमा विस्तारै भगवतीको दर्शन गर्नेगर्दथे भनिन्छ । आजपनि यहाँ चाडपर्वमा मेला लाग्ने र दैनिक पूजाआजा गरिने गरिन्छ ।
पौवा, धर्मशाला तथा फूलवारी: यो स्थान दरवार भन्दा अलिकतल पूर्वपट्टी रहेको थियो । यहाँ नियमित खानेपानीका लागि धर्मशाला, आरामको लागि ठूलो पौवा, अल्पविश्रामका लागि चौतारो तथा मनोरमका लागि फूलवारी र बगैंँचाको व्यवस्था गरिएको स्थान हो । यसको प्रमुख उद्देश्य दरवारबाट सेनाहरु नियमित गामवेसी हिँडी लादी, चुँदी खोला हुँदै फुस्रेटार मस्र्याङ्दी र भन्सार पुगी फर्कँदाका क्रममा उकालो चढ्दा आरामगर्न र प्यास मेटाउन धर्मशाालामा पानी तथा मनोरञ्जन गर्न बागबगैचा र फूलबारीको व्यवस्था भएको मानिन्छ ।
बगैँचा तथा फुलवारी: तनहुँ राज्यका राजपरिवारले दान, धर्म, सदाब्रत तथा लोकको उपकारका लागि विभिन्न स्थानमा फलफूलका वगैँचा तथा फूलवारी लगाएका थिए अरे । त्यसमा कुसुमपानीको वगैँचा, पौवाको बगैँचा, लादीखोला र बेग्रेखोलाको दोभानमा रहेको फेदीको वगैँचा, अर्चलचौर कलेस्तीका वगैँचा, लादीखोलाको आडमा रहेको लामटारीको बगैँचा, खत्रीखोलाको ढलेको बगैंँचा आदि धेरै स्थानमा यस्ता बगैंँचा र फूलवारीहरु लगाइएका थिए, जो आजपनि रहेकाछन् ।
सिलिङ्गेफूलको बोट: तनहुँराज्यको स्थापनाकालमा राजाहरुले अन्य स्थानबाट यहाँ ल्याएर सारेकोे सिलिङ्गे नामक फूलको बोटमा बाह्रवर्षमा एकपटक मात्र पूmलफुल्ने तर फलनलाग्ने र यसको सुगन्धितको बास्ना सर्वत्र फैलने तथा यसको सुगन्ध गोरखा, लमजुङ्, कास्की, पाल्पा र मुस्ताङ्मा रहेको मुक्तिनाथ मन्दिर समेतका स्थानमा पुग्ने गर्दछ भनिन्छ । यो अलौकिक विशेषता भएको बनस्पतीको फल भने नलागेको र यसको प्रजनन् कुनैपनि उपायद्वारा पत्ता नलागेको तथा अरु नयाँ विरुवा आजसम्म नभएको वास्तविकता हो । यो रहस्यकै विषय भएकाले अनुसन्धानयोग्य विषय भएको छ । यो फूलको बोट दरवारको थोरै तल दक्षिणपूर्वपट्टी रहेको छ ।
भन्सार कार्यालय: राज्यले आयकर तथा आयात–निर्यातकरका बस्तुहरुमा भन्सारकर लिने स्थानको रुपमा भन्सार कार्यालय मर्स्यांग्दी नदीको नजिक फुस्रेटारबाट अलिकपर ठूलोटारमा रहेको थियो, त्यस स्थानलाई भन्सार भनिन्थ्यो जो आज पनि त्यही नामले प्रसिद्धि पाएको छ । हाल यो स्थान भानु नगरपािलकामा पर्छ र त्यसको कार्यालय क्षेत्र समेत रहेकोछ ।
औद्योगिक क्षेत्र तथा हटिया: तनहुँराज्यको औद्योगिक एवम् व्यापारिक क्षेत्रको रुपमा तनहुँसुर हटिया र आसपासका क्षेत्र रहेका थिए । त्यहाँ परम्परागत रुपमा कपासबाट घरबुनाका कपडा समेत बुन्ने काम हुनेगर्दथे , त्यस समयको निरन्तरता दिने मुल, वतास तथा श्रेष्ठ परिवारहरु थिए, त्यसबाट स्थानीय आवश्यकतालाई पूरागरेको मानिन्छ । त्यसलाई पछिल्लो समयसम्म कायम राखिराख्ने प्रसिद्ध महिलाहरुमा डिलमाया बतास, राममाया बतास, मोतीकुमार श्रेष्ठको परिवार, दुर्गानाराण श्रेष्ठ र तोयावहादुर मूलको परिवार रहेका थिए । सो स्थानहरुमा कपडा उत्पादन साथै बिक्रीका लागि हाटबजार लाग्ने गर्दथे अरे, त्यसको प्रभाव स्थानीय अन्य जातिमा समेत परेको थियो । त्यस समय यस क्षेत्रमा कपडा बुन्ने कामले राम्रो स्थान लिएको थियो अरे । त्यो औद्योगिक अवस्थालाई बुझाउने गरी ‘नेवारेको खेतीपाती धागो कात्ने चर्खा चिभेचरी करायो आमै अब लाग्यो बर्खा’ भनेर गीत समेत गाइन्थ्यो अरे । यो क्रम वि.सं २०३५ सम्म पनि कायमै रहेको मैले देखेर अनुभव गरेको विषय हो ।
राज्यविलय पछिको व्यवस्था: तनहुँराज्य विशाल नेपालमा विलय भएपछि वि.सं १९७५मा भन्सार,मालपोत,अदालत, अन्नको गोदाम समेतका कार्यालयहरु तनहुँसुर हटियामा सारिएको र त्यहाँ सुरक्षार्थ सेना राखिएको थियो अरे । पछि विं.सं १९९४मा लमजुङ्को कुन्छा सारिएको थियो भनिन्छ । वि.सं २००८मा अस्थाई प्रहरी चौकी मात्र रहेको पछि वि.सं २०२५मा तनहुँ जिल्लाको सदरमुकाम दमौली सारिएको अवस्थामा त्यहाँबाट त्यो चौकी पनि दमौली सारिएको रहेछ ।
शहीदपार्कको निमार्ण: तनहुँ राज्यको राजधानी तनहुँसुरको पश्चिमपट्टी गद्दीचौतारो भन्दा केही तल राणाशासन विरोधी आन्दोलनका क्रममा जिल्लाको सदरमुकाम अड्डा कब्जालिने प्रयासमा वि.सं २००७ माघ १ गते बन्दिपुरमा भएको युद्धमा शाहदात प्राप्त गर्ने तनहुँका बीर अमर शहीदहरु सन्तबहादुर राना, चन्द्रबहादुर सार्की, उत्तरकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ , खड्गबहादुर गोदार र धर्मध्वज गुरुङ्को शालिक सहित ऐतिहासिक तथ्य झल्कने सामग्रीहरु र अभिलेख सहितको पार्कको निर्माण भएको छ । सो स्थान तनहुँसुर शहीद पार्कका नामले परिचित छ ।
अन्य ऐतिहासिक स्थानहरुः उपरोक्त स्थानहरुका अतिरिक्त जारकाटे ढुँङ्गो, रानीपोखरी, वाइस सिढी बाटा गोदाम क्षेत्र समेतका उल्लेख्य स्थानहरु रहका छन् । यी ऐतिहासिक तत्थ्यहरु विस्तृत खोज, अनुशन्धान र विश्लेषका विषय भएर रहेका छन् । संक्षेपमा प्रमुख स्थान र पक्ष यिनै हुन् ।









