तनहूँ । स्थानिय निकायको निर्वाचन मिति अगावै रोचक बन्ने अनुमान गरिएको तनहूँको व्यास नगरपालिकाको मेयर पदको निर्वाचन परिणाम रोचक मोडमा पुगेको छ । यसपटक व्यास नगरपालिकाको निर्वाचनसग कांग्रेसका दुई हस्तिहरुको भाग्य जोडिएकोले पनि कौतुहलता बढेको छ ।
व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट निवर्तमान मेयर बैकुण्ठ न्यौपाने मैदानमा हुनुहुन्छ भने अर्कोतर्फ नेकपा एमालेको समर्थनमा दिपकराज जोशी स्वतन्त्र उमेदवारको रुपमा उत्रनुभएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सबैभन्दा नजिकका पात्र बैकुण्ठ न्यौपाने हुनुहुन्छ भने राजनीतिक रुपमा पौडेलका आलोचक गोविन्दराज जोशीपुत्र दिपकराज जोशीको चुनावी घमसानले सबैको ध्यान तानेको छ । मतगणना शूरु भएदेखि नै निवर्तमान् मेयर बैकुण्ठ न्यौपानेलाई गोविन्दराज जोशीपुत्र दिपकराज जोशीले पछाडि पारिरहनुभएको छ । व्यास नगरपालिका वडा नं. २, ३, ४ को अन्तिम नतिजा आईसक्दा र वडा नं. १, ५, ६ र ७ को मतगणना शुरु गर्दा पनि दिपकराज जोशीलाई जित्ने मत बैकुण्ठ न्यौपानेको साथमा आएको छैन तर व्यास १ को मतगणनामा निवर्तमान् मेयर बैकुण्ठ न्यौपानेले झिनो मतले अग्रता लिनुभएको छ । व्यास नगरपालिकाको २६०० मत गणनामा बैकुण्ठ न्यौपानेको पक्षमा ११०६ र कैची चिन्ह लिनुभएका उमेदवार दिपकराज जोशीको पक्षमा ९७२ मत परेको छ । धेरै वडाहरुमा पछाडि पर्नुभएका न्यौपानेलाई वडा नं. १ को मतले केहि राहत दिएको छ । उक्त वडामा उपमेयरको लागि १२६६ र वडा अध्यक्षको लागि १२६८ मत आएको छ ।
व्यास नगरपालिकाको मतगणनामा हालसम्म १०८३२ मतगणनाको परिणाम अनुसार दिपकराज जोशीले अग्रता कायम गर्नुभएको छ । हालसम्म दिपकराज जोशीले प्राप्त गरेको मत ४६९७ रहेको छ भने बैकुण्ठ न्यौपानले प्राप्त गरेको मत ४१७४ रहेको छ ।








