 
                                     
								तनहूँ । केहिदिन अगाडि कम्युनिष्टका एकजना नेताले भन्नुभयो ”माधबजी यत्रो बर्ष कम्युनिष्ट राजनीति गरे तर यसपाली आफन्त कांग्रेसबाट उठ्नुभाछ भोट कम्युनिष्टलाई दिनै मन लागेन तैपनि चर्को स्वरमा कम्युनिष्ट हुँ भनेर चिच्चयाएर फाईदा लिनै पर्यो ” त्यसको भोलिपल्ट एकबिहानै एकजना तनहूँ कांग्रेसकी शुभचिन्तकले फोन गर्दै भन्नुभयो ”माधबजी मलाई त गोविन्दराज जोशीको छोरा र बैकुण्ठ न्यौपाने बराबर दुवै कांग्रेस भोट त मलाई दिपकराज जोशीलाई दिन मन थियो तर आत्माले रुख चिन्ह छोड्नै मानेन । उमेदवार नसम्झिकन रुखमा भोट हालेर आए । मेरो पिडा सुनाएको कसैलाई नभनिदिनु है” भन्नुभयो । अचम्म लाग्यो २१ शताब्दिमा पनि मानिसहरुमा दिल र दिमागको कम्बिनेशन नदेख्दा अचम्म लाग्यो ।
आखिर व्यास नगरपालिकाको निर्वाचनमा यी र यस्तै पात्रहरुले निर्वाचन परिणाममा प्रभाव पार्नै लागेको भान भईरहेको छ । नेपाली कांग्रेसको गढ वडा नं. १ देखि वडा नं. ५ सम्मको मतगणना सकिन लाग्दा पनि नेपाली कांग्रेसका आधिकारिक उमेदवारलाई नेपाली कांग्रेसकै विद्रोही त नभनौे नेपाली कांग्रेसकै पुर्व सह महामन्त्री गोविन्दराज जोशीपुत्र दिपकराज जोशीले पछाडि पार्नुभएको छ । मेयरको टिकट वितरणको क्रममा नेपाली कांग्रेसभित्र असन्तुष्टि भएको गाईगु्ई मात्र होईन ठुलै हल्ला सुनिएको र देखिएको पनि थियो तर पनि नेपाली कांग्रेसका सबै नेताहरु एकजुट भएर मेयर पदका उमेदवार बैकुण्ठनाथ न्यौपानेलाई विजयी गराउन दिनरात खट्नुभएको थियो तर मतगणनाको नतिजा नियाल्दा अवस्था बिलकुल फरक देखिएको छ । न्यौपानेलाई उहाँको पुरानो बसाई भएको व्यास ६ मा पुग्दामात्र राहत मिलेको हो नत्र व्यास १ देखि व्यास ५ सम्मपुग्दा आहतै आहत मिलेको छ ।
नेपाली कांग्रेसको जिल्ला सभापति पराजित भएका बैकुण्ठ न्यौपानेको टिकटसम्मको यात्रा सहज नभएपनि अहिले देखिएको स्वतन्त्र उमेदवार दिपकराज जोशीको चुनाव चिन्ह कैचीप्रति मानिसको आर्कषणलाई स्वतन्त्र व्यक्तिप्रतिको आर्कषणभन्दा पनि प्रवृत्तिप्रतिको बिर्कषणको रुपमा धेरैले अर्थ्याएका छन् । यो क्रेज अन्य वडाहरुमा बढ्यो भने बैकुण्ठ न्यौपानेको राजनीतिकि क्यारियरको लागि मात्र नभएर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको लागि पनि सारै घातक हुने देखिएको छ ।
बिहानीले दिनको शुरुवातको संकेत गर्छ भनेपनि दमौलीको खाल्टोबाट उदाएको संकेतले त्यति राम्रो नगर्ने संकेतहरु व्यास ६ मा पुग्दा देखिन लागेका छन् । यसपटकको व्यासको निर्वाचनमा यदि बैकुण्ठ न्यौपानेको एकल प्रयाशमा भएको जित भयो भने उहाँलाई ठुलो राहत मिल्नेछ भने हार भयो भने कांग्रेसका एकथरि स्वार्थी समुह जो ”मै खाँउ मै लाँउ अरु जे सुकै गरुन्” भन्नेहरुको हार भएको मानिनेछ । बैकुण्ठ न्यौपानेको जित भयो त्यो समुहले बैकुण्ठ न्यौपानेलाई राम्रो गर्न दिदैन भने दिपकराज जोशीको जित भयो भने त्यो समुह भोली त्यहि ढोकामा सबैभन्दा पहिला पुग्नेछ जुनकुरा जिते पनि हारे पनि बैकुण्ठ न्यौपानेले अगाडिको राजनीतिक यात्राको लागि मनन गर्नुपर्नेछ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


