रामचन्द्र पौडेलको बाटोका ढुगांहरु र ३ विकल्प

  • ख-
  • ख+

तनहूँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मितिको घोषणा नगरेपनि तनहूँमा चुनाव लागिसकेको छ । जुनकुराको झल्को केहि दिन अगाडि गएको बाढि पहिरोको समयमा प्रष्टै देखिएको थियो । दशकौंसम्म जनताले ”पुल पुल ” भनेर घाँटि सुक्ने गरि चिच्याउदा सुनेको नसुने झै गर्ने नेताहरु लर्को लागेर स्थानियहरुले बनाएको बाँसे पुल हेर्न सवारी हुनुले पनि सोझा साझा जनताले पनि ”एय ! चुनाव आउन लागेछ है ” भनेर सजिलै अनुमान लगाएका छन् ।

त्यसै त चर्चाको केन्द्रमा रहने तनहूँ जिल्ला क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनाव लड्ने मुडमा भएको कुरा बुझ्न धेरै खोजिनिति गर्नु नै पर्दैन । ”जब राति तब बुढि ताँति” भने झै निर्वाचन आउन थालेपछि जिल्लातिरको बाक्लो आउजाउले उहाँ फेरि चुनाव लड्ने मुडमा भएको कुरा जग जाहेर नै भईसकेको छ । सामाजिक संजाल र पत्रपत्रिकातिर ”क्षेत्र नं. १ मा रामचन्द्र पौडेललाई चुनावमा विजयी हुन गारो छ भनेर पौडेललाई हच्काउन खोजेपनि स्वयं पौडेल स्थानिय निकायको निर्वाचनमा व्यास, भानु र देवघाटमा अधिकांश नेपाली कांग्रेसका उमेदवारहरु विजयी हुनु र नेपाली कांग्रेसका कार्यकर्ताहरु जिल्ला समन्वय समितिमा जान रोईकराई गर्दागर्दै पनि ”माओवादीलाई पनि दिनुपर्छ क्या ” भन्दै ३ पदहरु उपहार स्वरुप दिनुको तानवानालाई नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको मत फकाएको रुपमा सबैले राम्रैसग बुझेका छन् ।

अघिल्लोपटक नेकपाका उमेदवार कृष्णकुमार श्रेष्ठ किसानसग पराजित हुनुभएका पौडेलले पनि सजिलै अनुमान गर्नुभएको छ ”यसपटक पनि किसान नेकपा एमालेमा भएको भए त गाह्रै हुन्थ्यो ! गोविन्दराज जोशीले चुमुक चुमुक गरे अघिल्लो पटक झैं यसपटक पनि देखाईदिन्छु , क्षेत्र नं. १ मा एमालेमा मसग भिड्ने अरु त को छ र ? अब त क्षेत्र नं. १ को एक्लो शेर मै हुँ” भन्ने परेको छ तर बोहोराटार दरवारबाट हेरेजस्तो सजिलो छैन यसपटक पनि रामचन्द्र पौडेललाई तनहूँ क्षेत्र नं. १ ।
क्षेत्र नंं. १ मा शक्तिशाली बन्दै गएको नेपाली कांग्रेसकै भण्डारी समुहका नेता शंकर भण्डारीलाई कहाँ कसरी व्यवस्थापन गर्ने पौडेलको लागि मुख्य चुनौति त छदैछ स्थानिय निर्वाचनको टिकट वितरणमा पार्टीभित्र बलेको भुसको आगो मंसिरमा चिसो बढेपनि त्यति सजिलै निभ्ने लक्षण देखिएको छैन । सदावहार प्रतिपक्षी गोविन्दराज जोशीको पावरलाई कम आँकलन गरियो भने यसपटकको हार अघिल्लोभन्दा फराकिलो हुन सक्ने सम्भावनालाई झनै नकार्न सकिदैन । पौडेललाई अघिल्लो निर्वाचनमा पराजित गर्न सफल कृष्णकुमार श्रेष्ठ किसान पुर्वमन्त्री भएपछि नेकपा एमालेका जिल्ला स्तरियदेखि केन्द्रिय नेताहरु उहाँलाई पुरानै पार्टीमा फर्काउनुपर्छ र फेरि रामचन्द्र पौडेलसग भिडाउनुपर्छ भन्नेमा अनिच्छा देखाईरहेका छन् भने गोविन्दराज जोशीले रामचन्द्र पौडेलसग भिड्ने ईच्छा देखाईरहनुभएको छ । ”स्थानिय निर्वाचनमा गोविन्दराज जोशी पुत्र दिपकराज जोशी प्राविधिकरुपमा हारेपनि नगरप्रमुखमा विजयी हुने मत दिएकै थियो अब गोविन्दराज जोशीलाई मत दिन सकिदैन ” भन्ने मत बलियो बनेको अवस्थामा नेकपा एमाले र जोशी समुह नेपाली कांग्रेसका वरिष्ठ नेता जो प्रधानमन्त्री आकांक्षी हुनुहुन्छ उहाँलाई पराजित गर्न सक्ने व्यक्ति खोजि गरिरहेको छ। रामचन्द्र पौडेलसग प्रतिष्पर्धा गर्नको लागि त्यत्तिको हाईटको मान्छे त भेटिदैन तर सानै भएपनि कडा प्रहार गर्न व्यक्तिको खोजिगरिरहदा सबैको नजर धेरै पटक पौडेलको चुनावी कमाण्डर भएको, नेपाली कांग्रेसको पार्टी कार्यालयको अन्तरकुन्तरदेखि नेपाली कांग्रेस तनहूँका सबै नेता तथा कार्यकर्ताहरुको नालिवेली राम्रोसग बुझेको व्यक्तिमा गएर ठोकिएको छ र ति व्यक्ति हुनुहुन्छ नेपाली कांग्रेस तनहूँका निवर्तमान सचिव एवं स्थानिय निकायको निर्वाचनमा व्यासको मेयरमा टिकट वितरणप्रति असन्तुष्ट भई पार्टी परित्याग गरि बस्नुभएका विश्व बास्तोला

एमाले र जोशी समुहले रामचन्द्र पौडेललाई पुनः पराजित गर्न तानावाना बुनिरहदा धेरैले ”विश्व बास्तोला सहि उमेदवार हुन सक्छ है, पौडेललाई बुझेको छ, केटो टाठो छ, यस्ले चाँहि जित्छ है ! ” भनिरहदा पौडेलका सामु ३ बटा विकल्प बचेका छन् विकल्प नं. १ या त आफ्नो परम्परागत प्रतिदन्द्धी गोविन्दराज जोशीको पकडक्षेत्रबाट टाढाको चुनावी क्षेत्र तनहूँ क्षेत्र नं. २ वा अन्य क्षेत्रमा जाने र विजयी हुने । विकल्प नं. २ क्षेत्र नं. १ मा नै चुनाव लड्छु भनेर जिवनको उत्तरार्धमा आफ्ना शिष्य विश्व बास्तोलासग प्रतिष्पर्धा गर्ने, जुन निर्वाचनमा विजयी हुनु भनेको फलामको च्युरा चयाउनु बराबर हुनेछ र अन्तिम विकल्प छ विकल्प नं. ३ विश्व बास्तोलालाई पुनः पार्टीमा फर्काएर ”मेयर बनाउन सकिन प्रदेशसभाको सदस्य बनाउछु ” भनेर तनहूँ निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभाको उमेदवार बनाउने।
”व्यास, भानु र देवघाटमा पार्टीले जितेको छ , जिल्ला समन्वय समितिमा माओवादी केन्द्रलाई सिट दिएर गुन लगाएको छु ” भनेर जति नै मख्ख परेपनि विकल्प नं. १ बाहेक कुनै विकल्प पनि वयोवृद्ध नेता रामचन्द्र पौडेलका लागि सहज हुनेछैन जुन कुरा उहाँलाई उचालेर पछार्दा मजा मान्नेहरुले बुझेर पनि नबुझेको झैं गर्नेछन् उक्त कुरा स्वयं पौडेलले बुझ्नु जरुरी छ । नत्र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्षौसम्म राज गरेको जिल्लामा हिजो उहाँलाई नै चुनाव जिताउन लडेकोे आफ्नै शिष्यसग चुनाव हारेको दृश्य धेरैको लागि प्रिय लाग्ने छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?