आँबुखैरनी जामुने सडकखण्डमा सम्झौता विपरित काम गर्दै सडक निर्माण कम्पनी

  • ख-
  • ख+

तनहूँ । बर्षातको समयमा देशका विभिन्न भागहरुमा बाढि पहिरोले सडक आवागमनमा बाधा व्यवधान पुर्याएपनि पृथ्वी राजमार्ग आँबुखैरेनी कोत्रे सडकखण्डमा सडक निर्माण कम्पनीले सम्झौता अनुरुपको काम नगरेर सर्वसाधारणलाइ दुः ख दिएको भेटिएको छ । एशियाली बिकास बैकको सहयोगमा ४ लेनको बिस्तार गर्न लागिएको पृथ्वी राजमार्गको ३ बर्षमा सक्ने गरि ठेक्का लिएको कम्पनीले सम्झौता अनुसारको काम नगरेकोले यात्रु ,सवारी साधन तथा स्थानिय वासिन्दाहरुलाई अनावश्यक दुः ख भएको छ । विशेषगरि पृथ्वी राजमार्गको पुर्वी सडकखण्ड आँबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रमा निर्माण कम्पनीले सम्झौतामा उल्लेख भए बमोजिम सडक मर्मत नगर्दा बर्षातको समयमा मात्र होईन अन्य समयमा पनि सर्वसाधारणलाई दुःख भएको हो ।
सम्झौतामा ३ बर्षको अवधिमा निमांण नगरिएको स्थानको सडकमा कालोपत्रे गरिनुपर्ने , सडकमा बन्दै गरेका खाल्डाखुल्डी कम्पनीले मर्मत सम्भार गर्नुपर्ने भनिएपनि कम्पनीले कतै खाल्डाखुल्डी भएको ठाउँमा ठुला ढुगां हालेर पुरेको छ भने कतै सडक बिस्तार गर्दा निस्केको माटो हालेर पुरेको भेटिएको छ ।”खाल्डाखुल्डी भएको स्थानमा कालोपत्रे गर्नुपर्ने सम्झौता विपरित किन ठुला ठुला ढुगां र माटो हालेर पुरेको झै गरिएको छ ?” भनेर प्रश्न गर्दा मुग्लिन पोखरा सडक योजना पुर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदी ”बर्षाको बेला भएकोले कालोपत्रे गर्न नसकिएको” बताउनुभएको छ जुन अति नै अविश्वशनिय रहेको छ । थुप्रै महिनादेखि काम गरिरहेको कम्पनीले आजसम्म अलकत्र हालेर पिच गरिएको यो सडकखण्डमा कतै देखिएको र भेटिएको छैन जहाँसम्म बर्षाको कारणले खाल्डाखुल्डी टाल्न पिच गर्न गर्न नसकिएको भनाई छ नेपालका अधिकांश सडकहरु बर्षातको समयमा पिच गर्ने गरिएको पाइएको छ ।

सडक विस्तारको काम भईरहेको स्थानमा वातावरण प्रदुषित नहोस् भन्नका लागि धुलो नउड्ने गरि पानी हाल्नुपर्ने भएपनि सडक निर्माण कम्पनीले देखाउनका लागि पानी ट्यांकरहरु दौडाउने गरेपनि तनहूँका डुम्रे लगायतका बजारक्षेत्रहरु हरहमेशा धुलोमय हुने गरेका छन् जस्को कारण सर्वसाधारणको स्वास्थ्यमा ठुलो असर पारेको छ । स्वास्थ्यकर्मीका अनुसार सडकछेउमा अहिले फैलिएको धुलोले हाल सर्वसाधारणको स्वास्थ्यमा रुघा खोकी लगायतका सामान्य समस्या देखिएपनि त्यस्ले बिशेष गरि बृद्धबृद्धा र बालबालिकामा दिर्घकालिन रोग लाग्नसक्ने बताउनुभएको छ । त्यसैगरि केहि अगाडि डुम्रे बजारमा मोटरसाइकल चालकले सडकमा धुलोको कारण बाटो काट्दै गरेकी बृद्धालाइ नदेख्दा दुर्घटना हुन पुगेको थियो ।

(धुलोका कारण मोटरसाईकल चालकले नदेखेपछि बाटो काट्दै गर्दा दुर्घटनामा पर्नुभएकी बृद्धा , तस्विरः सामाजिक संजाल)

सडक बिस्तार गर्दा जाम हुने, बाटो अवरुद्ध हुने सामान्य कुराहरु भएपनि निर्माण कम्पनीहरुले बाटो बिस्तार कार्य नगरेको स्थानहरुमा पनि मर्मत नगर्ने , निर्माण समय अवधिभर खाल्डाखुल्डी मर्मत सम्भार गर्नुपर्ने भएपनि झारा टार्न मर्मत गरेको झै गर्ने गरेको पाईएको छ । पृथ्वीराजमार्ग पुर्वी सडकखण्डका विभिन्न स्थानहरुमा सडक बिस्तारका कामहरु नभएपनि ति स्थानहरुमा खाल्डाखुल्डी पुरेर सडकलाई सहज बनाउन कुनै पनि काम गरेको पाईदैन ।

निर्माण कम्पनीले ठेक्का प्राप्तपश्चात राजनीतिक दलहरुसग र व्यक्ति विशेषहरुसग साँठगाँठ गरि कमसल निर्माण सामाग्री प्रयोग गरिरहेको भेटिएको थियो । ”कमसल सामाग्री प्रयोग गरिएको भेटेर सचेत गराईएपछि हाल उक्त सामाग्रीहरु प्रयोग नगरिएको” मुग्लिन पोखरा सडक योजना पुर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीको भनाई रहेको छ ।
बिकास निर्माणका कार्यहरु गरेको समयमा सर्वसाधारणलाई असर पर्ने भएपनि सम्बन्धित कम्पनीहरुले सम्झौता अनुरुपको कामहरु गर्नुपर्ने भएपनि यस सडकखण्डमा बलमिच्याईपुर्वक काम गरिएको पाईएको छ । कमसल निर्माण सामाग्रीहरु प्रयोग गरेर वालहरु लगाउने, सम्झौता बमोजिम उक्त सडकखण्डमा भत्केका सानातिना खाल्डाखुल्डीहरु कालोपत्रे गर्नुपर्ने, सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरि धुलो उडाउन नपाईने भएपनि यो
सडकखण्डमा सम्झौता बमोजिमका नियमहरु पालना गर्न सम्बन्धित निर्माण कम्पनी चुकेको छ त्यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउनु जरुरी रहेको छ ।
८० किलोमिटर सडकखण्डलाई २ भागमा बिभाजन गरि ठेक्का लगाईएको आँबुखैरनी जामुने पुर्वी सडकखण्ड ४१.५४ किमि स्तरोन्नतीको ठेक्का चाईनिज कम्पनी चाईना कम्युनिकेशन कन्शटक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयामा ठेक्का पाएको छ भने त्यसैगरि जामुने पोखरा पश्चिम खण्डको चाईनिज येनहुई काईयुआन हाईवे एण्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का पाएको छ ।
मुग्लिन पोखरा सडक योजनाको आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर ४ लेनको सडकमा ३१ वटा नयाँ पुलहरु निर्माण हुनेछन् भने सडक दुई तर्फि २५ / २५ मिटर हुनेछ । खैरेनीटार ,दुलैगौडा, कोत्रे बजार, कास्की जिल्लाको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटर हुने छ भने बाक्लो बस्ति भएका क्षेत्रहरु डुम्रे बजार दमौलीमा ४१ मिटरको सडक बन्नेछ ।

(सडक निर्माण कम्पनीको लापरवाहीले डुम्रे बजारका फैलिएको धुलो, तस्विरः सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?