शंकर भण्डारीको मौनता संकटको संकेत कि आँधि अगाडिको सन्नाटा ?

  • ख-
  • ख+

वरिष्ठ नेता रामचन्द्र पौडेललाई देशको अन्य स्थानमा चुनाव लड्न पठाएर तनहूँ क्षेत्र नंं १ को टिकट ल्याउन सकियो भने तनहूँको निविकल्प नेता बन्न सकिने ध्याउन्नमा लागेकोले शंकर भण्डारीको मौनतालाई धेरैले आँधि अगाडिको सन्नाटाको रुपमा बुझेका छन् ।

तनहूँ । घरपिच्छे नेतै नेता भएको तनहूँ जिल्लाका केन्द्रमा चल्ताफिर्ता नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीमाथि यतिबेला संकटको बादल मडारिरहेको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन घोषणा भईसकेपछि तनहूँको कुन क्षेत्रबाट आफु उमेदवार बन्ने हो शंकर भण्डारीले त्यस्लाई घोषणा गर्न नसक्नुलाई तनहूँ कांग्रेसका नेता तथा कार्यकर्ताहरुले उहाँमाथिको एउटा राजनीतिक संकटको रुपमा हेरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीलाई सबैभन्दा बढि संकट आफ्नै पार्टीका वरिष्ठ नेताले पार्नुभएको बुझिएको छ । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हालै सम्पन्न महाधिवेशनमा कोईराला क्याम्प छोडेर देउवासग टपक्क टाँस्सिनुले पनि शंकर भण्डारीको भाग्यमा संकट आईपरेको धेरैको अनुमान रहेको छ ।
”बुढा आफै शेरबहादुर देउवासग टपक्क टाँस्सिएका छन् शंकरदाईले कस्लाई गएर कुरा गर्ने ? जिल्लामा बसेर ग्राउण्डको कुरा गर्दा त क्षेत्र नंं. १ मा कार्यकर्ताले तनहूँ क्षेत्र नं. १ मा पहिलो राजाई शंकर भण्डारी हो भनेका छन् । यो क्षेत्रमा सजिलै चुनाव जित्नसक्ने शंकर भण्डारी नै हो भन्ने सबैलाई थाहा छ । नेपाली कांग्रेसका धेरै नेता तथा कार्यकर्ताहरुले तनहूँ क्षेत्र नं. १ मा शंकर भण्डारीलाई अगाडि बढाउनुपर्छ भने पनि चुनावभन्दा अगाडि नै चुनाव प्रचारको शैलीमा गाउँ डुल्न थालेपछि पार्टीमा कहाँ सुनाउने कार्यकर्ताले कुरा ? ” शंकर भण्डारी निकट एकजना स्थानिय नेताको भनाई छ ।
त्यसो त अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा पनि तनहूँको क्षेत्र नं. २ मा शंकर भण्डारी उमेदवारको रुपमा पछिल्लो समयमा निर्णय भएको थियो । ”अहिलेको निर्वाचनमा पनि क्षेत्र नंं. २ मा नै शंकर भण्डारी उमेदवार हुनुहुनेछ भनेपनि पुनः शंकर भण्डारीले टिकट पाउने सम्भावना लगभग अन्त्य भएको” अर्का केन्द्रीय सदस्य प्रदिप पौडेल निकट श्रोतको भनाई छ । ”कृष्णप्रसाद सिटौला सत्ता गठबन्धन कार्यदलको संयोजक बन्नु र सिटौलाका सबैभन्दा नजिकका प्रियपात्र प्रदिप पौडेल उक्त क्षेत्रको दावेदार हुनुले पनि शंकर भण्डारी उक्त क्षेत्रमा दावी गर्नु फगत हुने ” प्रदिप पौडेल निकट श्रोतको ठोकुवा छ ।
केन्द्रको गुटगत राजनीति र आफुले समाउने बलियो हाँगोमा अरु नै गएर लिसो टाँस्सिएझै टाँस्सिनु , जिल्लामा पनि गुटगत राजनीतिको चरम शिकारमा पर्न सकिने सम्भावनाले गर्दा जोडबल गरेर टिकट ल्याएर तनहूँ क्षेत्र नंं. २ मा प्रतिनिधिसभा सदस्यमा पुनः पराजयको स्वाद चाख्नुभन्दा कसरी आफ्नो व्यवस्थापन गरेर पार्टीको राजनीतिको केन्द्रमा रहिरहने त्यतातर्फ राजनीतिका चतुर खेलाडी शंकर भण्डारीले सोचिरहेको अधिकांशको अनुमान रहेको छ । यदि वरिष्ठ नेता रामचन्द्र पौडेललाई देशको अन्य स्थानमा चुनाव लड्न पठाएर तनहूँ क्षेत्र नंं १ को टिकट ल्याउन सकियो भने तनहूँको निविकल्प नेता बन्न सकिने ध्याउन्नमा लागेकोले शंकर भण्डारीको मौनतालाई धेरैले आँधि अगाडिको सन्नाटाको रुपमा बुझेका छन् ।
रामचन्द्र पौडेलदेखि धुर्व वाग्लेसम्म, गोविन्द भट्टराईदेखि प्रदिप पौडेलसम्मको चित्त बुझाएर आफु समानुपातिकमा बसेर शंकर भण्डारी देशभर पार्टीको चुनाव प्रचारमा खटिएर आफ्नो संगठन बिस्तार गरेको देखियो भने अचम्म नमाने हुन्छ किनकी तनहूँका २ पौडेलहरुको संस्थापनसगको राम्रो लिसो टँस्साई र उठबस शंकर भण्डारीको लागि अनुकुलभन्दा प्रतिकुल रहेको सबैले राम्रैसग बुझेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?