 
                                     
								प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलासग अब व्यास नगरपालिकाका केहि कर्मचारीको बोलचाल बन्द हुने हो कि ? नयाँ नयाँ बुहारी नक्कल पार्छिन् भन्ने उखान चरितार्थ हुने हो त्यो हेर्न भने केहि समय कुर्नै पर्छ ।
तनहूँ । साउन ६ गते शुक्रवार अर्थात जुलाई २२ तारिखका दिनमा तनहूँका एक जना चल्ताफिर्ता पत्रकारले व्यास नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत भएर आउन लाग्नुभएकोमा हरिराम नागिलालाई बधाई दिदै आफ्नो फेसबुकमा लेख्नुभयो ”व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”
त्यो बधाई सहितको शुभकामना प्रकाशित भएको केहि मिनेटमा व्यास नगरपालिकाका एकजना प्रभावशाली पूर्व वडा अध्यक्षले प्रतिक्रिया लेख्नुभयो ”स्वागत छ हरिराम सरलाई , अब व्यासका कर्मचारीलाई अनुशासनमा राखि चुस्त दुरुस्त सेवा प्रवाह गराउनुहुनेछ ।” यसबाट नै अनुमान लगाउन सकिन्छ व्यास नगरपालिकाका कर्मचारीहरुको मनोभाव ।
त्यसै मनोभावलाई बुझेर व्यास नगरपालिकामा हालसालै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला कार्यालयका हर काममा बढि नै चासो राख्नुभएको छ जस्को असर व्यास नगरपालिकामा देखिन थालेको छ ।
नाम नछाप्ने सर्तमा व्यासका एक कर्मचारी भन्नुहुन्छ ”सबै हाकिम साब समयमा नै आउनु त भन्नुहुन्थ्यो तर अहिलेको हाकिमसाब त आफै ९ः३० मा अफिस छिरेर हाजिर चेक गर्न थालेपछि त हाटा गर्ने साथीहरुको सात्तो गएको छ नि , केहि कर्मचारी केहि मिनेट होईन घण्टौ ढिला हुदाँ पनि कस्ले के गर्न सक्छ र हामीलाई भन्ने सोच्थे अब त ढिला भए गयल परिएर तलब काटिएला भन्दा को डर भयो ।”
कर्मचारीको वानी ब्यहोरा सुधार्नको लागि आफैबाट पहल गर्नुपर्छ भनेर अधिकृत नागिलाले कार्यालय समय अगावै कार्यालयमा पस्ने र बेलुका पनि कार्यालय समयभन्दा धेरै समय बसेर कर्मचारीको काम कारवाही नियाल्ने गरेको विश्वस्त श्रोतले बताइएको छ ।
स्मरणिय छ व्यास नगरपालिकामा कार्यालय समयमा काम फत्ते नगर्ने र अन्य समयमा काम गरेको देखाएर अनेकौ शिर्षकमा कर्मचारीहरुले भत्ता लिदा पटक पटक विवाद श्रृजना भएको छ । विश्वस्त श्रोतका अनुसार नागिलाभन्दा अगाडिका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले ”अनेक शिर्षकमा भत्ता खाएर नगरपालिकालाई भार पर्ने काम गर्नुहुदैन” भनेर हस्ताक्षर गर्न नमान्दा व्यास नगरपालिकाका केहि कर्मचारीहरुको विदाई हुदाँसम्म सिग्देलसग बोलचाल भएको थिएन ।
युवा अवस्थामा नै उपसचिव भई सरकारी सेवाको माथिल्लो तहमा पुग्ने लक्ष्य लिनुभएका व्यासका स्थानिय बासिन्दा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलासग अब व्यास नगरपालिकाका केहि कर्मचारीको बोलचाल बन्द हुने हो कि ? नयाँ नयाँ बुहारी नक्कल पार्छिन् भन्ने उखान चरितार्थ हुने हो त्यो हेर्न भने केहि समय कुर्नै पर्छ ।


 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


