सन्दीपमाथि क्यानले तत्काल कारबाही नगर्ने, प्रहरी अनुसन्धान पर्खिने

  • ख-
  • ख+

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि तत्काल कुनै निर्णय नलिने भएको छ । उनीमाथि परेको जाहेरीका सम्बन्धमा प्रहरी अनुसन्धानलाई नजिकबाट नियाल्ने र आवश्यक सहयोग गर्ने मनस्थितिमा क्यानका पदाधिकारीहरू छन् ।

सन्दीपको समाचार बाहिर आएसँगै आज क्यानको आकस्मिक बैठक बस्ने तयारी थियो । तर, कुनै औपचारिक बैठक बसेन । अध्यक्ष चतुर बहादुर चन्दले केही पदाधिकारीसँग अनौपचारिक छलफल गरेका थिए । त्यस क्रममा तत्काल कुनै निर्णय नलिने समझदारी भएको स्रोतले बताएको छ ।

‘अहिलेसम्म यो आरोप मात्रै हो । यदि आरोप पुष्टि हुने आधारहरू बाहिर आए भने त्यस बेला सोच्न सकिन्छ । अहिले चाहिँ प्रहरीको अनुसन्धानमा सहयोग गर्ने समझदारी भएको छ,’ स्रोतले भन्यो ।

क्यानले गत मंसिरमा मात्रै सन्दीपलाई क्रिकेट कप्तान नियुक्त गरेको थियो । हालै नेपाली टिमको केन्या भ्रमणमा उनले टी–२० श्रृंखलामा नेतृत्व गरेका थिए । एक दिवसीय श्रृंखलामा भने उनी अनुपस्थित रहे । केन्याबाट उनी क्यारिवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका छन् ।

नेपाल क्रिकेट संघका कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दीपको विषयमा संघले तत्कालै कुनै पनि निर्णय नलिएको बताए । प्रहरीको आगामी गतिविधिबाट अगाडी बढ्ने उनको भनाइ छ ।

‘हामीले तत्काल कुनै एक्सन लियौँ तर प्रहरीले भोलि केही पनि भेटिएन भनेर सन्दीपलाई सफाइ दियो भने के गर्ने भन्ने पनि सोच्नुपर्छ । त्यसैले अहिलेको अवस्थामा हामी चुप लागेर बसिरहेका छौँ’, मल्लले भने । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?