कार्तिक १० । तनहुँ। नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनको ट्रफी आइतबार तनहुँको दमौलीमा प्रदर्शन गरिएको छ। गण्डकी प्रदेश भ्रमण अन्तर्गत ट्रफी दमौलीमा ल्याइएको हो। काठमाडौँबाट ट्रफीसहित आएका पोखरा एभेन्जर्स टिमलाई दमौलीको सफासडकबाट बाजागाजाका साथ अनसन चौतारीमा स्वागत गरिएको थियो।
कार्यक्रममा नेपाल क्रिकेट संघ (CAN) का केन्द्रीय सदस्य सुदीप शर्मा, नेपाल खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, CAN गण्डकी प्रदेशका सचिव सुमन कार्की, कोषाध्यक्ष दिवाकर थापा, सदस्य ऋषिराम गौतम, पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी, खेलाडीहरू तथा क्रिकेटका शुभेच्छुकहरूको उपस्थिती रहेको थियो।
तनहुँ जिल्ला क्रिकेट संघको समन्वयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष मदन तिमल्सेनाले नेपालकै गौरवको रूपमा रहेको यस प्रतियोगिताको ट्रफी दमौलीवासीले नजिकबाट अवलोकन गर्न पाउनु गर्वको विषय भएको बताए। उनले गण्डकी प्रदेशको पोखरा एभेन्जर्स टिमलाई आगामी सिजनमा उपाधि जित्ने शुभकामना समेत दिए।
एनपिएलको दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि सुरु हुने जनाएको छ।









