दमौली बजारमा सडकको हरिविजोगः कमिशन नपाउने आशमा मर्मत नगरिएको स्थानीयको गुनासो

  • ख-
  • ख+

पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसान र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको घर, नगपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहूँ, जिल्ला ट्राफिक कार्यालय तनहूँ , दमौलीको तरकारी बजार, नगरपालिकाद्धारा तोकिएको मासु बजार भएको नजिकैको सडकको अवस्था जिर्ण

तनहूँ । घाम लागेको बेला धुलो उडेर कुहिरिमण्डल हुने दमौली बजारको मुख्य चोकको सडकको हरिविजोग भएको छ । व्यास नगरपालिका वडा नं. २, ३ र ४ को बिचमा पर्ने पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुख्य चोकको अवस्था हिलाम्मे र खाल्टाखुल्टीले भरिएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत आँबु खैरेनी जामुने सडक खण्ड निर्माणकार्य भइरहे पनि उक्त निर्माण कार्य गर्ने कम्पनीले दमौली बजारक्षेत्रमा सडक भत्काउने तथा त्यस सम्बन्धि अन्य कार्य नगर्दा पनि सडकको अवस्था दयनीय भएको छ ।

दमौली बजारको एक सय दुई मिटर भागमा नाली थुनिएको, सडकमा ठूला ठूला खाल्टाखुल्टी परेको, पानी परेको कारण खाल्टाखुल्टीमा पानी भरिएको कारण आम सर्वसाधारणलाई बाटोको छेउछाउ हिड्न र काटो काट्न समस्या भएको, स्कुटर, मोटर साइकल लगायतका साना सवारी साधन सडकमा गुड्न समस्या छ ।

”के गर्ने दमौली बजारको मुख्य ठाउँकै सडक यस्तो हुदाँ त व्यापार व्यवसायमा अप्ठ्यारो परेको छ नि मानिसहरुले भनेको ठाउँमा सवारी साधन रोक्न समस्या, बाटो काट्न समस्या छ, पानी पर्दा यस्तो छ भने घाम लाग्याे भने धुलो उडेर सटर बन्द गरेर बस्ने कि पसल खोल्ने भन्ने समस्या छ ” उक्त सडक नजिकै व्यवसाय संचालनमा गर्नुभएका व्यवसायी भन्नुहुन्छ ।

”सरकारले डेन्गु लगायतका अनेक रोग फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ हाम्रो त घर अगाडि पानी जमिरहन्छ नाली थुनिईरहेको छ खै कसरी हो सचेत हुने ? उहाँ अगाडि भन्नुहुन्छ ।
त्यसैगरि अर्का एक जना व्यापारी ”सडक विभाग, सडक निर्माण गर्ने आयोजना देखाउने , स्थानीय निकाय चुपचाप बस्ने कसैको कर्तव्य पर्दैन यो सडक मर्मत गर्ने ? कमिशन खान पाउने भएको भए सबै तात्दथे यस्मा आउदैन त्यसैले कोहि पनि नतातेका हुन् प्रष्ट छ छ नि ।” अर्का एकजना व्यवसायी शंका गर्नुहून्छ ।

दमौली बजारको उक्त सडकसगै जोडिएको क्षेत्रमा तनहूँ क्षेत्र नं. १ का सांसद तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसान र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको घर, नगपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहूँ, जिल्ला ट्राफिक कार्यालय तनहूँ , दमौलीको तरकारी बजार, नगरपालिकाद्धारा तोकिएको मासु बजार रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?