बाबुराम नेपाली। आँबुखैरेनी तनहूँ । दशैं,तिहार तथा छठ पर्वको उपलक्ष्यमा मिति २०७९ साल असोज २९ गते शनिबार सत्रसय फाँट स्थित ब्याडमिन्टन कोर्टमा प्रथम खुल्ला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिता हुन गइरहेको छ । प्रतियोगिता बिहान ठिक ७ बजे शुरु हुने जानकारी क्लबका सदस्य बालकृष्ण थापाले दिनुभएको छ । सत्रसय आँधिमुल ब्याडमिन्टन क्लबले आयोजना गर्न लागेको सो प्रतियोगितामा स्थानिय तहका बी र सी लेभलका खेलाडीहरुको सहभागिता रहनेछ । लिग कम नकाउट शैलीमा खेलाइने सो प्रतियोगितामा प्रथम तथा द्वितीय हुने टीमलाई ट्रफी, पदक तथा नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ भने तृतीय हुने टीमलाई पदक, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कुरा उक्त क्लबका संयोजक कर्ण बहादुर गुरुङले जानकारी गराउनु भयो । बिक्रम सम्वत २०७४ साल भाद्रमा स्थापना गरिएको सो क्लबले चारवटा प्रतियोगितामा सहभागी भएर दुइवटा प्रतियोगतामा बिजेता बनिसकेको भएता पनि क्लब आफैले प्रतियोगिता सन्चालन गर्न लागेको भने यो प्रथम पटक हो । आँबु खैरेनी गाउँ पालिकाको मुख्य प्रायोजनमा संचालन हुन गइरहेको सो प्रतियोगितामा प्रवेश शुल्क प्रत्येक टीमको रु. १,०००/ तोकिएको छ ।
उक्त प्रतियोगितामा सहभागी हुन चाहने टीमले २०७९ साल असोज २८ गते दिउँसो १२ बजेसम्म दर्ता गराइसक्नुपर्ने छ ।
सत्रसय आँधिमुल ब्याडमिन्टन क्लबका सदस्य रबिन थापामगरका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरुको लागि निशुल्क नास्ता तथा खानाको व्यवस्था गरिएको छ ।










