भद्रगोल पोखरामा हुदै गरेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता

  • ख-
  • ख+

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहानदेखि पोखरामा हकी प्रतियोगिता हुने तय थियो । तर, खेल सुरु हुनेबेलासम्म मैदान तयार नभएपछि तोकिएको भन्दा करिब ६ घन्टापछि मात्रै खेल सुरु भयो ।

खेल ढिलो हुनुमा मैदान मर्मतमा ढिलाइमात्रै कारण थिएन, खेलका लागि आवश्यक सामग्री र खेलाडी पोशाकसमेत नआइपुगेकाले ढिलाइ भएको हो । खेलाडी बिहानै मैदानमा पुगिसकेका थिए । तर, मैदानमा खेल सामग्री त परकै कुरा सामान्य मार्किङ गर्नसमेत बाँकी थियो ।

नेपाल हकी एसोसिएसनका प्रतियोगिता निर्देशक असिम शर्माका अनुसार खेलाडीले पोशाक नपाएकै कारण खेल सुरु हुन नसकेको हो । ‘खेल सामग्री पनि सबै आएका छैनन् । अहिले पनि आधामात्रै खेलाडीको पोशाक आएको छ,’ उनले भने, ‘पुरुष प्रतियोगिता सुरु हुँदैछ । तर, महिलाको पोशाक नआएका कारण खेल सुरु हुन सकेको छैन ।’

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भइरहेको ह्यान्डबल प्रतियोगितामा पनि सुदूरपश्चिम प्रदेशका ह्यान्डबल टोलीको जर्सी विपक्षीसँग मिलेपछि ‘बिब’ लगाएर खेल्नु परेको थियो । त्यसमाथि जर्सीमा अंक उल्लेख नहुँदा मार्करले नम्बर लेखेर मैदानमा उत्रिएका थिए ।

पोशाक पाइसकेका खेलाडीले पनि आफूहरुको जर्सी गुणस्तरहीन भएको गुनासो गरेका छन् । उनीहरुले पोशाक पनि पूरा सेट नआएको, पाएको पोशाक, जुत्ता पनि साइज नमिलेको, चिलाउने लगायत समस्या देखिएको गुनासो गरेका छन् ।

लुम्बिनी प्रदेशका खेलाडीलेसमेत आफूहरुले पाएको जर्सीमा लोगो, पिन्ट केही नभएको गुनासो गरेका छन् । कतिपय खेलाडीले भने आफ्नै खर्चमा लोगो प्रिन्ट गरेको बताए । ‘स्मल साइजबाहेक अरुमा प्रिन्ट पनि छैन । पाएको जर्सी सेट पनि पूरा छैन, पछि आउँछ भनेका छन्,’ लुम्बिनीकी एक खेलाडीले गुनासो गरिन्, ‘कपडा यति कमसल छ कि सामान्य पसिनाले पनि खुइलिरहेको छ ।’

प्रत्येक खेलाडीलाई करिब ८ हजार मूल्य बराबरको पोशाक सेट वितरण गरिने आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक घिसिङले बताउँदै आएका थिए । तर, नवौं राष्ट्रिय खेलकुद आयोजना समितिकै सदस्यहरु भने अहिले वितरण भइरहेको पोशाकले मुस्किलले २५ सय रुपैयाँ पर्ने दाबी गर्छन् । ‘खेलाडीले पनि पोशाकमाथि नै मजाक गरिराखेका छन् । यो त कमसलभन्दा पनि कमसल हो,’ एक सदस्य भन्छन्, ‘सबै जोड्दा २५ सय रुपैयाँ पनि पर्न आउँदैन ।’

खेलाडीलाई उधारो मेडल

पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा भइरहेको फेन्सिङ प्रतियोगिताका विजयी खेलाडीलाई ‘उधारो’ पदक दिइएको छ । बुधबार बेलुकी विजयी भएका खेलाडीलाई पदक लगाउन नपुगेपछि दिउँसोका विजेतासँग पदक फिर्ता मागिएको थियो ।

साँझका विजयी प्रतियोगीलाई खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मान गर्ने कार्यक्रम थियो । तर, मेडल अभाव भएपछि केहीबेर पदक वितरण रोकिएको थियो । पछि अघिल्ला विजेतासँग मागेर साँझका विजेतालाई मन्त्री गहतराजले पदक लगाइदिए । खेलाडीका अनुसार फोटो सेसनपछि फिर्ता गर्ने शर्तमा पदक मागिएको थियो ।

नेपाल फेन्सिङ महासंघका महासचिव सुजनलाल श्रेष्ठले आफूहरुलाई दिइएको मेडल अपुग भएको र थप मेडलका लागि पर्खिराखेकोबेला अचानक मन्त्री आएपछि खेलाडीसँगै माग्नु गरेको स्पष्टिकरण दिए । ‘अचानक मन्त्रीज्यू आएर हतार छ भन्नुभयो । थप मेडल आउन बाँकी थियो, त्यसैबेला खेलाडीसँग मागेका हौं,’ उनले अनलाइनखबरसँग भने, ‘पछि खेलाडीहरुलाई नै फिर्ता गरिसक्यौं । त्यस्तो अभावै भन्ने त होइन ।’ ( अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?