बाबुराम नेपाली। आँबुखैरेनी। तनहूँ । आँबु गाउँ पालिका वडा नं १ सत्रसय फाँटमा सत्रसय आँधिमुल ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रथम पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७९ साल असोज २९ गते सम्पन्न भएको छ ।
गाउँ पालिका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथी रहेको उक्त प्रतियोगितामा आँबु खैरेनी, बन्दीपुर, पालुङ्टार, डुम्रे, खैरेनी लगायतका स्थानहरूबाट जम्मा ३४ टीमको सहभागिता रहेको थियो । गाउँ पालिका उपाध्यक्ष दुर्गा अर्याल विशिष्ट अतिथी तथा वडाध्यक्ष प्रेम बहादुर गुरुङ्ले विषेश अतिथी रहेको कार्यक्रममा सत्रसय आँधिमुल ब्याडमिन्टन क्लबका सदस्य देउ बहादुर थापा मग्गरले स्वागत मन्तव्य दिनुभएको थियो भने दुर्गा अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बिहान ७ बजे शुरु भएको उक्त प्रतियोगितामा खैरेनीटारबाट आउनुभएका दस वर्षिय खेलाडीद्वय सफल भुजेल र सन्देश थापा मुख्य आकर्षण रहेका थिए । लिग चरणका दुई खेल जित्न सफल बाल खेलाडीद्वय सफल भुजेल र सन्देश थापालाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार स्वरुप नगद रु.३०००/- सहित ट्रफी प्रदान गरियो ।
लिग तथा नक आउट चरणमा खेलाइएको सो प्रतियोगितामा खैरेनीटारबाट सहभागी दुर्गा थापा र लक्ष्मण थापाको टीम बिजयी भएको छ भने बन्दीपुरबाट सहभागी मनोज बराल र प्रविण भट्टराईको टीम दोस्रो भएको छ । त्यस्तै बन्दीपुरबाट सहभागी रामशरण राना र पदम बहादुर घर्तीको टीम तथा आँबु खैरेनीबाट सहभागी कुमार शर्मा र नारायण गुरुङको टीम संयुक्त रुपमा तेस्रो भाएका छन् । ट्रफी, पदक र प्रमापत्र सहित प्रथम र द्वितीय हुनेलाई क्रमशःनगद रु.१०,०००/- र रु.७,०००/- तथा तृतीय हुनेलाई पदक र नगद रु.३,०००/- प्रमुख अतिथि गाउँ पालिका शुक्र चुमानले प्रदान गर्नुभयो ।
सो कार्यक्रममा आँबु खैरेनी गाउँ पालिकाले चालू आर्थिक वर्षमा खेलकुदको बिकासको लागि नगद रु. २५ लाख छुट्ट्याइएको र त्यसै अन्तर्गत यो प्रतियोगितालाई नगद रु. ५०,०००/- प्रदान गरिएको तथा सी डिभिजन क्लब फुटबल प्रतियोगितामा आँबु खैरेनी गाउँ पालिकाको सहभागिताको लागि रु. ७ लाख बिनियोजन गरिएको जानकारी दिनुभयो । सोही कार्यक्रम अनुसार छिट्टै एउटा कभर्ड हलको निर्माण गरिने पनि उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रमको समापन गर्दै आयोजक क्लबका अध्यक्ष कर्ण बहादुर गुरुङले मुख्य प्रायोजक आँबु खैरेनी लगायत नगद सहयोग गर्नुहुने मित्रता बचत तथा ॠण सहकारी, सत्रसय बचत तथा ॠण सहकारी , अकला सहकारी संस्था, यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार प्रसाद पौडेल, दिनेश थापा, विष्णु पन्त, बिनोद बाबू मल्ल,ॠषिराम मिश्र लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो र आयोजना सफल पार्न सहयोग गर्ने सबैजना सहयोगी तथा सहभागी खेलाडीहरु प्रती हार्दिक कृतज्ञता प्रकट गर्नुभयो ।








