तनहूँ । निर्वाचनको घोषणा अगावै आफैले आफैलाई चुनावपछिको प्रधानमन्त्री घोषित गर्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समकालिन वा वर्तमान् समयमा नेतृत्व लिन अग्रसर नेताहरु मध्ये अलि बढि नैतिकवान् रहेकोमा कुनै दुईमत छैन तर २०७४ को निर्वाचनमा कम्युनिष्टको एकजना साधारण कार्यकर्तासगको पराजयले तनहूँमा पौडेलको जग पनि त्यति दरो रहेनछ भन्ने जगजाहेर भईसकेको छ । आखिर बिशेषगरि वरिष्ठ पौडेल निकट कार्यकर्ताहरुले सादगी जिवन जिउने, नैतिकवान्, निष्ठावान् नेता भनेर पगरी गुथाईएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका केन्द्रमा चुनौतिका चांगहरु भएको कसैबाट छिपेको छैन तिनै पौडलका जिल्लामा के कस्ता छन् त चुनौति चांगहरु आउनुहोस् केहि व्याख्या गरौ ।
चुनौति नम्बर १ः जिल्लामा ३० बर्ष राज, काम शुन्यको बराबर
२०४६ सालको आन्दोलन पश्चात लामो समयसम्म सत्ताको नजिक रहनुभएका वरिष्ठ पौडेलले जिल्लामा विकास निर्माणका कामहरुलाई अगाडि नबढाउनुभएको त होईन तर गर्न सक्ने जति र गर्नैपर्ने काम नै नगर्नु भएको भन्ने आरोप नै चुनावको मुखमा चुनौतिको पहाड बनेर उहाँको सामु उभिएको छ ।
प्रधानमन्त्री बाहेक सभामुख, उपप्रधानमन्त्री र विभिन्न मन्त्रालयको मन्त्री बन्नुभएका पौडेलको जिल्ला तनहूँमा एउटा गतिलो विश्वासिलो सरकारी अस्पताल नहुनु , दमौली बजारमा भएको दमौली अस्पताल पनि राजनीति गर्नेहरुको नियुक्ति दिने थलो बनाइनु , जिल्ला वा आफ्नो क्षेत्रमा एउटा सरकारी कलेज बनाउन पौडेलले कहिल्यै पहल नगर्नु र दमौली बजारको आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी बनाउन पहल गर्नुपर्छ भन्दा मौन रहने बानीले वरिष्ठ नेता पौडेललाई सधै लखेटिरहने छ ।
भोलिको ईतिहासकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्लामा गरेका कामहरुहरुको ईतिहास लेख्ने समयमा धुलो उडाउदै बाढि पहिरोको लागि उत्प्रेरक गाउँका कच्चि सडक बाहेक खासै केहि देख्ने छैनन् । इतिहासकारले वरिष्ठ नेता पौडेलले पहलमा बनेको गर्व गर्न लायक काम रिसिगं र व्यासको सिमानामा बन्दै गरेको हाईड्रो पावर भनेर ठुला ठुला अक्षरमा लेखेपनि जनताले ”३०, ३२ बर्षको काम एउटा हाईड्डो पावर ?” भनेर प्रश्न गर्नेछन् भने स्वयं पौडेलले चुनाव प्रचारमा हिड्दै गर्दा ” ३०, ३२ बर्षको मेरो देखिने काम भनेकै रिसिगं र व्यासको सिमानामा बन्दै गरेको हाईड्रो पावर हो है” भनेर आम मतदाताको मन बुझाउन धेरै गारो पर्ने देखिन्छ ।
चुनौति नम्बर २ः गोविन्दराज जोशीसगको परम्परागत दुश्मनी
त्यसो त राजनीति गर्नेहरुका दुश्मन हुनुलाई नौलो मानिदैन तर पनि तनहूँ कांग्रेसका २ नेता जस्ले राष्ट्रियस्तरमा पहिचान बनाउनुभएको थियो उहाँहरुको पुरानो दुश्मनीले एक अर्कालाई सिध्याउने तहसम्म पुगिरहेको छ । गुट परिवर्तन गर्न सिपालु र अवरवादीहरुलाई समेत व्यवस्थापन गर्न सक्ने वरिष्ठ नेता पौडेलले आफ्नो राजनीति सिध्याउन कम्मर कसेर लााग्नुभएका जोशीलाई व्यवस्थापन गर्न पहल गर्नु त परको कुरा सम्वादको स – सम्म सुन्न नचाहनु पनि उहाँको लागि आजिवन चुनौति बनेर खडा भएको छ । शायद यो चुनाव त्यो दुश्मनीको ”अन्तिम क्लामेक्स” हुन सक्ने धेरैको अनुमान रहेकोछ ।
चुनौति नम्बर ३ः अरुलाई अगाडि बढ्न नदिनु
कम्युनिष्टहरुको गढ तत्कालिन तनहूँ क्षेत्र नं. ३ मा तत्कालिन सांसद अमरराज कैनीलाई पुनः त्यहि निर्वाचन क्षेत्रमा उमेदवार बन्न असहयोग गरेपछि ”पौडेलदाईले जिल्लाबाट कसैलाई अगाडि बढ्न नदिने हुनुभयो” भनेर स्वयं पौडेल निकट कांग्रेसीहरुले पनि भन्ने गरेका थिए र त्यो भनाई भन्न आजपर्यन्त पनि तनहूँका कांग्रेसीहरु रोकिन पाएका छैनन् । ठुला मान्छेको चित्तको बारेमा खुल्लम खुल्ला कांग्रेसीहरु चर्चा गर्ने गरेको कोहि कसैबाट छिपेको छैन ।
केन्द्रमा प्रतिनिधित्व गर्ने शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, धुव्र वाग्ले, रामचन्द्र पोखरेल हुन् वा अन्य नेताहरुलाई पार्टीको केन्द्रीय सदस्य, सांसद, संविधानसभा सदस्य वा मन्त्री बन्न र बनाउन वरिष्ठ नेता पौडेलको कुनै पनि योगदान नहुनु पनि प्रत्येक पटकको निर्वाचनमा पौडेलका लागि चुनौतिका पर्खाल बन्ने गरेका छन् ।
चुनौति नम्बर ४ः कमैलाई विश्वास गर्नु र मौका परस्तलाई मौका दिनु
आफु लामो त्याग र तपस्या गरेको नेता हुदाँ हुदै पनि जिल्लामा त्याग र तपस्या गरेका नेता तथा कार्यकर्ताको उचित मुल्यांकन नगर्नु , सिमित नेता तथा कार्यकर्ताको ” हो हो” र तालिमा रमाउनु , लाभको पदमा होस् नेतृत्व हस्तान्तरणमा होस् त्यत्तिको राष्ट्रिय पहिचान बनाएको नेताले निष्पक्ष गर्नु है भन्न त परको दिलोज्यानले कांग्रेसको उत्थानको लागि लाग्ने नेता, कार्यकर्ताको योगदानको अवमुल्यन गर्नु , त्यागी, ईतिहास बोकेका नेता तथा कार्यकर्ताको व्यवस्थापनमा चुक्नु र गुट फेर्ने मौका परस्त नेता तथा कार्यकर्तालाई बढि च्याप्नु पनि पौडेललाई यसपटकको निर्वाचनमा चुनौति बन्ने देखिएको छ ।
चुनौति नम्बर ५ः जनताको आशामा खरो नउत्रिनु र गलत सल्लाहकार
रामचन्द्र पौडेल जत्तिको नेतालाई जिताएर राष्ट्रियस्तरको नेता बनाएपछि धेरै नै विकास होला , रोजगारीको अवसर श्रृजना होला भनेर पटक पटक जिताउदा पनि वरिष्ठ नेता पौडेलको चुनावी नारा नबदलिनु पनि वरिष्ठ नेता पौडेलको लागि अर्को चुनौति बन्नेछ । सधै कृषि क्रान्तिका कुरा, सधै ”म राष्ट्रिय राजनीतिमा अल्झिएको कारण जिल्लामा भनेको जस्तो हुन सकेन, स-साना कुरामा ध्यान दिन पाईन” भन्नु , कार्यकर्ता तथा कांग्रेसका शुभचिन्तकहरुलाई चाहिएको बेला साथ नदिनु र राष्ट्रिय पहिचान भएको नेता भएर पनि आफ्नो जिल्ला, क्षेत्र, गाउँका पढेलेखेका नियुक्ति पाउन योग्य व्यक्तिहरुलाई पौडेलले विद्यालय, क्यासिनोमा र एकाध नियुक्ति दिन बाहेक केहि गर्न नसक्नु वा नचाहनु पनि वरिष्ठ नेता पौडेलको लागि चुनौति रहेका छन् भने जिल्लामा गलत व्यक्तिको सल्लाहको भरमा चल्नुु नै वरिष्ठ नेता पौडेलका अगाडि बडेमानको चुनौतिको पहाड बन्ने पक्का छ ।








