समानुपातिक सूचीका ५५० जनाको नाम निर्वाचन आयोगले हटायो

  • ख-
  • ख+

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ ।

दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले सूचीबाट हटाएको हो ।

जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना पनि छन् । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।

उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ ।

अल्पसंख्यक र लैंगिक सूचनाको अस्पष्टताका कारण पनि केही उम्मेदवारको नाम हटाएको आयोगले जनाएको छ । लैंगिक विवरण फरक परेका कारण पनि ३७ जनाको नाम हटेको छ । दलहरुले महिलालाई पुरुष र पुरुषलाई महिला भनी उल्लेख गरेकाले यसरी नाम हटेको हो ।

मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको नाम हटेको छ । प्रदेशसभामा उम्मेदवार भएपनि सम्बन्धित प्रदेशमा मतदाता सूचीमा नाम नभएका कारण १८ जना सूचीबाट हटेका छन् ।

आयोगले मागेको कागजात पेश नगरेकाले थप ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?