तनहूँ । नेकपा एकीकृत समाजवादी तनहूँ सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना नेकपा एमालेमा समाहित भएका छन् । तनहूँको शुक्लागण्डकीमा बुधवार आयोजित एक कार्यक्रममा नेकपा एमाले नै कम्युनिष्ट आन्दोलनको मुल धार भएको बताउदै समाहित हुनुभएको हो ।
समाहित हुनेमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश अध्यक्ष कमल गैह्रेलगायत जिल्ला कमिटीका १८ जना सदस्य हुनुहुन्छ । शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा संघ तनहूँका अध्यक्ष जीवन भट्टराई सहित युवा संघको सिङ्गो जिल्ला कमिटी पनि एमालेमा फर्केको हो । स्थायी कमिटीका सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङ, पोलिट्व्युरो सदस्य एवं तनहूँ जिल्ला इञ्चार्ज टुकराज सिग्देल लगायतले उहाँहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङले आगामी निर्वाचनमा अब तनहूँमा नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभयो । ‘लामो समय एमालेमा लगानी गरेका साथीहरु मुल पार्टीमै फर्कनुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई आज उर्जा थपिएको छ । तनहूँका ६ वटै निर्वाचन क्षेत्रमा जित निश्चित भएको छ ।’ उहाँले जितिन्छ भन्दैमा ढुक्क तरिकाले नबस्न नेताहरुलाई निर्देशन दिनुभयो । नेता गुरुङले नेपाली काङग्रेस व्यक्तिवादी पार्टी भएको बताउनुभयो। ‘मतदातालाई किन फोन गर्ने उहाँले भन्नुभयो ‘तर नेकपा एमाले संस्थागत ढंगले चलेको पार्टी भएकाले कार्यकर्ताले आफै नै उम्मेदवार सम्झेर प्रचार प्रसार गर्नेछ ।’ तनहूँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले कहिकतै छुटेका साथीहरुलाई पनि पार्टीमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
तनहूँमा स्थानीय तहको चुनावदेखि नै गठबन्धनका अन्य दलले एकीकृत समाजवादीको अवमुल्यन गरेकाले पार्टी छाड्नु परेको नेकपा एसका श्रेष्ठले बताउनुभयो । उहाँले गठबन्धनको नामबाट कम्युनिष्ट आन्दोलनाई कमजोर बनाउने खेल भएको बताउदै पुरानो घर फर्किएको बताउनुभयो । उहाँले कुनै पदको आश्वासनले पार्टीमा फिर्ता नभएको दाबी गर्नुभयो । नेता श्रेष्ठले आजैबाट एमालेलाई जिताउने अभियानमा लाग्ने प्रष्ट पार्नुभयो।
जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेश्वर ढकाल, उपसचिव खिम बहादुर कुमाल, नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना लगायतले नेपालको कम्युनिष्ट आन्दोलनको मुल धार नेकपा एमाले भएको बताउदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरि लाग्न आग्रह गर्नुभयो।








