सरोकारवालाहरुसँग उत्थान परियोजनाको वार्षिक समीक्षा

  • ख-
  • ख+

पोखरा । बाल तथा महिला सशक्तिकरण समाज नेपाल (सिडब्लुुइएस)ले संचालन गरेको उत्थान परियोजनाको वार्षिक समीक्षा हालै एक कार्यक्रमका वीच पोखरामा सम्पन्न भएको छ । संस्थाका सदस्यहरुसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

बालिका, किशोरीहरुका लागि जीवनोपयोगी सीप तथा व्यवसायिक तालिम प्रदान गरेको परियोजना सफलतापूर्वक अघि बढेको सिडब्लुुइएसकी अध्यक्ष युुमाया पुनले बताउनुभएको थियो । आन्तरिक बेचबिखन तथा हिंसाको जोखिममा रहेका लक्षित समूहका लागि परियोजनामार्फत सामाजिक मनोविमर्श, व्यवसायिक तालिम तथा उद्यमशील बन्नका लागि सहयोग गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । लक्षित समूूहका बालबालिका तथा किशोरीहरुको शिक्षा प्राप्त गर्ने लक्ष्यलाई केन्द्रमा राखेर कार्यक्रमहरु संचालन गरिएको पनि उहाँको भनाइ छ ।

कार्यक्रममा सो परियोजनाका कार्यक्रम अधिकृत अनिता कुँवरले १ वर्षमा सम्पन्न भएका कार्यहरु बारे चर्चा गर्नु भएको थियो । सो अवधीमा १ सय ९ जनालाई मनोविमर्श सेवा, १ सय ४३ जनालाई जीवनोपयोगी तालिम र २७ जनालाई शैक्षिक सहयोग गरिएको जानकारी दिनुभयो । युुनिसेफ नेपाल र विश्व शिक्षाको सहयोगमा संचालित उत्थान परियोजनाले छोटो समयको अवधीमा सरोकारवाला संघसंस्थाहरुको सहकार्यमा कार्यसम्पन्न गर्न सफल भएको उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाको सामाजिक महाशाखाका बाल कल्याण अधिकृत विष्णुमाया पौडेलले संस्थाले लक्षित समूहसम्म सेवा सुविधा लैजानु प्रशंसनीय कार्य भएको बताउनु भयो । पौडेलले महिलाहरु आर्थिक रुपमा सशक्त नभइकन समाजमा सबै खालको विभेद अन्त्य गर्न नसकिने धारणा राख्नुभएको थियो ।

गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीका कार्यवहाक अध्यक्ष पदमराज पहारीले समाजमा व्याप्त विभेदको अन्त्यका लागि राज्यको भूमिका प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभएको थियो । यस सन्दर्भमा गैरसरकारी संघसंस्थाहरुको भूमिका महत्वपूर्ण बनेको पहारीको भनाइ थियो ।

कार्यक्रममा संस्थाकी पूर्वअध्यक्ष रजनी कोइराला, उपाध्यक्ष मीना लिगल, सहसचिव लक्ष्मी अधिकारी, बाराही माबिका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, तालबाराही माबिका प्रधानाध्यापाक ताराप्रसाद पोखरेल, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण बराल, सेवाग्राही रुविना मगर लगायतले संस्थाको योगदानका बारे प्रकाश पार्दै महिला तथा बालबालिकाका क्षेत्रमा विद्यमान चुनौतिका बारेमा धारणा राख्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्