चितवन प्रहरीले जिल्लाका सबै विद्यालय र क्याम्पसहरुमा ‘चेतनामूलक विद्यालय पाठ्यसामग्री’ पढाउने समझदारी गरेको छ।
जिल्ला प्रहरी कार्यालयले सातवटै स्थानीय तहहरुमा छुट्टा–छुट्टै कार्यक्रम गरेर उक्त पाठ्यसामग्री अध्यापनका लागि प्रधानाध्यापक तथा क्याम्पस प्रमुखहरुसँग सम्झौता गरेको छ।
स्थानीय तहहरुको सहयोगमा प्रकाशन गरिएको पाठ्यसामग्रीमा जिल्लामा भइरहेका अपराधिक गतिविधिको तथ्यांक प्रस्तुत गर्दै अपराध र कानूनको विषयमा जानकारी गराइएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले सबै सामुदायिक तथा निजी विद्यालय र क्याम्पसहरुले हप्तामा कम्तीमा एक घण्टी पढाउने प्रतिबद्धता जनाएको बताए।
लागूऔषध दुव्र्यसनी, धुम्रपान, मद्यपान, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका विरुद्ध कस्ता अपराधहरु हुनसक्छन्, सामाजिक अपराध भनेको के हो, घरेलु हिंसा र उजुरी दिने कार्यविधि के हो, आत्मरक्षा र बच्ने उपायहरु कस्ता हुन्छन्, ट्रफिक नियम कस्तो हुन्छ, आत्महत्या के हो, यसको संकेत र बचाउने उपाय के हुन्, असल मानिसका कर्तव्य र जिम्मेवारी कस्ता हुन्छन् जस्ता विषयहरु पाठ्यसामग्रीमा समेटिएको उनले बताए।
पाठ्यसामग्रीमा कुनै घटना भइहाले जानकारी गराउन सम्बन्धित निकायहरुको सम्पर्क नम्बर पनि समावेश गरिएको छ।
‘अपराधका धेरै घटनाहरुमा विद्यालयमा अध्ययनरत बालबालिका, क्याम्पसमा अध्ययनरत किशोर, किशोरीको संलग्नता देखिने गरेको छ। उनीहरुलाई त्यस्ता गतिविधिमा संलग्न हुनबाट बचाउन विद्यालयको भूमिका सबैभन्दा बढी हुन्छ,’ एसपी अधिकारी भन्छन्, ‘प्रधानाध्यापकमार्फत शिक्षक, विद्यार्थी, अभिभावक हुँदै पुरै समाजलाई सचेत बनाउन पाठ्यसामग्री तयार पारेर वितरण गरेका हौं।’
उक्त पाठ्यसामग्री अध्यापनका लागि जिल्ला प्रहरी कार्यालयले गत चैत २४ गते भरतपुर महानगरपालिका भित्रका विद्यालय र क्याम्पस प्रमुखहरुसँग सम्झौता गरेको थियो। त्यसपछि रत्ननगर, खैरहनी, राप्ती, माडी र कालिका नगरपालिकाका शैक्षिक संस्थाहरुसँग सम्झौता गरिएको थियो।
आइतबार इच्छाकामना गाउँपालिकाभित्रका शैक्षिक संस्थाका प्रमुखहरुले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै जिल्लाका सबै विद्यालय र क्याम्पसहरुमा पाठ्यसामग्री पुगेको एसपी अधिकारीले बताए।
‘अब हामी त्यो पाठ्यसामग्री अध्यापनका लागि विद्यालयहरुलाई सहजीकरण गर्छौं, सकेसम्म शिक्षकमार्फत नै विद्यार्थीलाई सिकाउने, आवश्यक परे प्रहरी अधिकृतहरुलाई नै सहजीकरणका लागि पठाउँछौं,’ अधिकारीले भने।
अधिकारकर्मी मीना खरेलले समाजमा व्याप्त बिक्रीति, बिसंगती शिक्षकमार्फत रोक्न सकिने बताइन्।
‘नेपालमा भौतिक पूर्वाधार निर्माण गर्नुलाईमात्रै विकास भन्ने गरिएको छ। तर विकास त मानवीयतासँग जोडिएको हुन्छ,’ उनले भनिन्, ‘नैतिक विकास भएन भने भौतिक विकासको कुनै अर्थ हुँदैन।’ बालबालिकामाथि हुने यौन दुव्र्यवहार, आत्महत्याजस्ता घटना दिनहुँ बढिरहेको भन्दै उनले जनचेतनामूलक नैतिक शिक्षालेमात्रै त्यस्ता घटनामा कमी आउने बताइन्।
एसपी अधिकारीकाअनुसार चितवनमा बालबालिकामाथि हुने विभिन्न किसिमका हिंसा, उनीहरुले अन्जानमा गर्ने लागुऔषध सेवन, धुम्रपान, मध्यपान, साइबर अपराधहरु बढ्दोक्रममा छन्। बालबालिकाहरु लागुऔषध दुव्र्यसनीमा फस्नेक्रम बढ्दो छ।
प्रविधिमा पहुँच बढ्दै जाँदा सामाजिक सञ्जाल बालबालिकाहरु लागि जोखिमपूर्ण बन्दै गएको, साइबर अपराधका घटनामा बालबालिकाहरु मुछिने गरेको उनले बताए। उनकाअनुसार लागूऔषध पहिलो पटक सेवन गर्नेहरु १५ वर्षभन्दा कम उमेर समूहका ३२.४ प्रतिशत र १५ देखि १९ वर्षसम्मका ४८.९ प्रतिशत छन्। शिक्षकबाट छात्रामाथि बालयौन दुराचार भएका घटना पनि बढिरहेको उनले बताए।
जिल्लामा भएका अपराधिक गतिविधिका सबै तथ्यांकहरुको विश्लेषण गरेर पाठ्यसामग्रीमा समावेश गरेको अधिकारीले बताए। ‘सुरुआतमा शिक्षक तथा विद्यार्थीहरुलाई सचेत बनाउन सक्दा उनीहरुमार्फत समाज सुरक्षित बन्दै जाने भएकाले प्रहरी कार्यालयले अग्रसरता लिएर पाठ्यसामग्री प्रकाशनमा ल्याएको हो,’ उनले भने, ‘उहाँहरुले प्रतिवद्धता पुरा गर्नुभयो भने सुरक्षित समाज निर्माण गर्ने हामी सबैको अभियानमा ठूलो सहयोग पुग्छ।’
धेरैजसो विद्यालयहरुले प्रहरीले तयार पारेको चेतनामूलक पाठ्यसामग्रीलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पढाउन थालेका छन्। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त सामग्रीलाई स्थानीय पाठ्यक्रममै समावेश गरेर पढाउन सबै विद्यालयहरुलाई आग्रह गर्ने बताए। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले असल नागरिक निर्माणका लागि बालबालिकालाई सानैदेखि नैतिक शिक्षा दिनुपर्ने बताए।
‘अहिलेका बालबालिकाले नै भविष्यमा देशको नेतृत्व गर्ने हुन्। त्यसैले देशको नेतृत्व गर्ने जिम्मेवारी बोकेका बालबालिकालाई नैतिकवान बनाउने दायित्व हाम्रो हो,’ अधिकारी भन्छन्, ‘समाजमा नैतिकताको कमी हुँदै गएको अवस्थामा प्रहरीले तयार पारेको पाठ्यसामग्रीले बालबालिकामार्फत समाजलाई धेरै कुरा सिकाउन सक्नेछन्।’ (सेतोपाटी)








