तनहुँ, व्यास–३ दमौलीस्थित ज्ञानबाटिका मन्टेस्वरीले ग्राजुएसन समारोह सम्पन्न गरेको छ। अध्यक्ष अमर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा तनहुँ प्रेसका सञ्चालक एवम् पत्रकार बिकास खनाल सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले ज्ञानबाटिका मन्टेस्वरी परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यहाँ अध्ययन पूरा गरी कक्षा १ मा प्रवेश गर्न लागेका नानीबाबुहरूलाई विशेष शुभकामना दिनुभयो। उनले बालबालिकाको जीवनको पहिलो औपचारिक शैक्षिक यात्रा यहींबाट सुरु भएको उल्लेख गर्दै मन्टेसरीबाट सिकेको अनुशासन, संस्कार र आत्मविश्वासले आगामी दिनमा उत्कृष्ट बन्न सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
उनले विद्यालयले प्रदान गरेको माया, शिक्षा र मार्गदर्शनको प्रशंसा गर्दै अभिभावकहरूको साथ र शिक्षकहरूको मेहनतले नै यस्तो खुसी सम्भव भएको बताए । “सानो पाइला भए पनि यो ठूलो यात्राको सुरुवात हो,” भन्दै उनले बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे।
विद्यालयका प्रिन्सिपल दिलु रानाले ग्राजुएसन समय खुसी र दुःखको मिश्रण भएको बताउँदै कलिला बालबालिकालाई अभिभावकले विश्वास गरेर जिम्मा दिएको र अहिले उनीहरूलाई उज्ज्वल भविष्यका लागि अन्य विद्यालयतर्फ पठाउन लागिएको उल्लेख गरे। कार्यक्रममा अभिभावक सृजना रानाभाटले बिद्यालयले ठुलो गुन लगाएको भन्दै बाबुनानीलाइ अनुशासनमा बस्न र संस्कार सिकाउन महत्त्वपूर्ण भुमिका खेलेको बताईन् ।
त्यस्तै, शिक्षिका कमला पौडेलले स्वागत मन्तव्य राख्दै सानैदेखि आमाको काखबाट ल्याएर आजको अवस्थासम्म पुर्याइएको स्मरण गर्दै अब बिदाइ गर्नुपर्दा भावुक क्षण आएको बताएकी थिईन्।
कार्यक्रमको सञ्चालन शिक्षिका मोनिका थापाले गरेकी थिईन् भने कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।








