तनहूँ । व्यास नगरपालिका वडा नं. १० सेवरको श्री सर्वज्योति माध्यमिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले सर्वज्योतिको स्तरोन्नतिको लागि नगरपालिका सदा लागिरहेको यस विद्यालयलाई प्रगतिपथमा लैजानको लागि शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र स्थानियले अझै मेहनत गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेल, वडा सदस्यहरु वासना कुवर, ईश्वर पौडेल, निवर्तमान वडा अध्यक्ष तुलसीराम सापकोटा, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मदन तिमल्सेना, पुर्व अध्यक्षहरु हरिभक्त अधिकारी, केन्द्रीय दुग्द्य उत्पादक संघका अध्यक्ष अम्बरबहादुर कुवर, विद्यालयका पुर्व प्र.अ. परशुराम तिमल्सेना, छिमेकी विद्यालयका प्र.अ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, समाजसेवी, चन्दादाताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उक्त विद्यालयका पुर्व शिक्षक टिकाराम दाहालले आफ्ना मातापिताको नाममा अक्षयकोष स्थापना गर्नुभएको थियो त्यसैगरि विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय चन्द्रकान्त कोईरालाको परिवारले स्थापना गरेको अक्षयकोषको व्याजबाट आएको रकमले विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसैगरि विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष हरिभत्तः अधिकारीले आफ्नो छोराको सम्झनामा विद्यार्थीलाई नगद रकम सहयोग गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरतराज काफ्लेले विद्यालयको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयकी सहायक प्रधानाध्यापक मनु सापकोटाले संचालन गरेको कार्यक्रममा उत्कृष्ट शिक्षकद्धय शिव मिश्र र आशा गुरुगं दरैलाई सम्मान गरिएको थियो ।








