तनहूँ । गण्डकी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको अवस्था एवम् भावि कार्य दिशा बारे दुई दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आइतबारदेखि दमौलीमा सुरु भएको छ ।
सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशको समन्वयमा “राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तथा प्राविधिक शिक्षा एवम् तालिमको वर्तमान अवस्था र भावि कार्य दिशा” सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्राविधिक शिक्षालयका प्रमुख, पालिकाका शिक्षा शाखाका प्रमुख एवम् प्रतिनिधि तथा प्राविधिक धारका शिक्षा सञ्चालन भइरहेका शिक्षालयका सरोकारवालाहरुको सहभागीता रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षा मन्त्रालय अन्तर्गतका निकाय र सिटिइभिटी मार्फत प्राविधिक धारमा उत्पादन हुने जनशक्ति र लगानीमा एकरुपता कायम हुनुपर्ने बताए ।
एउटै प्रकृतिका कार्यक्रम दुइ निकायबाट सञ्चालन हुदाँ विद्यार्थीहरुमा अन्यौलता सिर्जना भएको बताउदै उनले सीपको मागलाई व्यवस्थापन गर्न कार्यक्रम समायोजन गरी अगाडि बढनुपर्नेमा जोड दिए । बजारमा प्राविधिक शिक्षाको माग बढ्दो भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुदाँ समस्या उत्पन्न भइरहेको उनको भनाइ थियो । साथै प्राविधिक धारका विषय सञ्चालन गरीरहेका विद्यालयका समस्या समाधानका लागि नगरपालिकाले पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावासयिक तालिम सञ्चालनको अवस्था, सञ्चालित कार्यक्रम र आवश्यकताबीचको कमी कमजोरी न्युनिकरण बारे छलफल गर्ने उद्देश्यले दुइ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सिटीइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए । साथै संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्रममा एकरुपता ल्याउन तथा पालिकाहरुको आवश्यकता अनुसारको प्राविधिक शिक्षा लागु गर्ने बारे पनि कार्यक्रममा छलफल हुने बताइएको छ ।
कार्यक्रममा पालिकाहरुमा सीपयुक्त जनशक्तिका आवश्यकता , प्राविधिक शिक्षाको महत्व, सम्भावनालाई विद्यार्थी सम्म पुयाउन गर्नुपर्ने आवश्यक कार्यक्रम, राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपका व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षाका समस्या समाधानका लागी तीनै तहका सरकारको भूमिका र मन्त्रालयले लागु गर्नुपर्ने नीति तथा कार्यक्रम बारे व्यापक छलफल गरिने आचार्यले बताए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका उपसचिव तोयानाथ लम्सालले सिकाइ उपलब्धी मापनयोग्य मापदण्डको आधार तयार गर्न, औपचारिक र अनौपचारिक पद्धतीबाट हासिल गरेका ज्ञान, सीपलाई परिक्षण तथा प्रमाणित गर्न र विद्यार्थीले आर्जन गरेको शिक्षालाई राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता दिलाउन व्यावसायिक योग्यता प्रारुपको अवधारणा तयार गरी नेपाल सरकारबाट स्वीकृत गरी लागु हुने चरणमा रहेको बताए ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा, शिक्षा तथा मानव स्रोेत विकास केन्द्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आ आफ्नै ढंगले काम गर्दै आएको भएपनि त्यसबाट अपेक्षित नतिजा आउन नसकेकाले यसबारे उचित समिक्षा हुनुपर्ने लम्सालको भनाइ थियो ।
कार्यक्रममको पहिलो दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाका सम्बन्धमा संवैधानिक व्यवस्था, आवधिक योजना, शिक्षाको तह र जनशक्तिको बिकासको अवस्था, सिटीइभिटी तर्फका शैक्षिक कार्यक्रमका संरचना, नेपालको शिक्षा प्रणाली, सीप परिक्षण र प्रमाणीकरण लगायतका बारेमा प्रस्तुती राखेका थिए ।
कार्यक्रम अवधिमा भर्ना क्षमता र भर्ना संख्याको अवस्था, प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्नु, बीचमा कक्षा छाडने दर उच्च हुनु र उत्तिर्ण दर कमजोर हुनुका कारण, रोजगारीको अवस्था सन्तोषजनक नहुनु, पाठ्यक्रमको ढाँचा, परीक्षा सञ्चालन र व्यवस्थापनमा सरोकारवालाहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा छलफल गरिने र छलफलबाट प्राप्त निष्कर्षलाई व्यवहारिक रुपमा कार्यावन्यन गरिने आयोजकले जानकारी दिएको छ ।








