रोटर्‍याक्टको सचिन स्मृति खुल्ला दौडको उपाधि गोरखा सिरानचोकका बोगटीले जिते

  • ख-
  • ख+

तनहूँ । रोटर्‍याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. सचिन कुमार श्रेष्ठको स्मृतिमा आइतबार आयोजना गरेको २०औ स्व.रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका ३ का दिनेश सिंह बोगटीले जितेका छन ।

तनहूँको सदरमुकाम दमौली स्थित अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन् ।

प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका(१ सत्रसयका सनम गुरुङ द्वितीय, ललितपुर महानगरपालिका ४ का विकेश घिमिरे तृतीय भएका छन । त्यस्तै भानु १२ बयापानिका अनिल मझकोटी सान्त्वना भए । उनीहरुले क्रमशः उक्त दूरी ३० मिनेट १० सेकेण्ड, ३० मिनेट ५२ सेकेण्ड र ३२ मिनेट २० सेकेण्डमा पार गरेका हुन् ।

त्यस्तै महिलातर्फ ३८ मिनेट २० सेकेन्डमा उक्त दूरी पार गर्दै व्यास ५ पाटनकी सुस्मिता रानाभाट र ५९ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास १ खकौलीका १२ वर्षीय बाल धावक कृतिक घर्ति सान्त्वना भएको प्रतियोगिताका संयोजक उमेश पौडेलले जानकारी दिए । प्रतियोगितामा ८८ जना धावकको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथमलाई रु १४ हजार, द्वितीय हुनेलाई रु १२ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सान्त्वना, महिला प्रथम र बाल धावकलाई जनही २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको रोटर्‍याक्ट क्लब अफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए । विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ ।

विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशासनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि दुई वर्ष अघिदेखि दौडको रुट परिवर्तन गरिएको हो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । यस पटकको प्रतियोगितामा विभागिय धावकलाई सहभागि नगराईएको अध्यक्ष श्रेष्ठले बताए ।

भारतको कोलकातामा रोटर्याक्टको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमको उद्घाटन व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा बोल्दै न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए । यस्तै कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए । सो अवसरमा प्रजिअ रिजालले परिवर्तन यहि उमेर समुहका युवाले सुरु गर्ने गरेको र गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्री र रोटरी क्लब अफ दमौलीका अध्यक्ष रामलाल श्रेष्ठले युवाको क्षेत्रमा विशेष काम रोटर्‍याक्ट क्लबले गर्नुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्