आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रमा मलेसियामाथि नेपालको जित

  • ख-
  • ख+

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।

९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए ।

मलेसियाका तर्फबाट १४ रन एक्सट्रा उपहार भयो ।

यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५।३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।

ओपनर हैरिल हरिसनले १२ रन जोडे । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे । यहि नै मलेसियाका लागि बलियो साझेदारी बन्यो ।

छैटौं ब्याटर मा्हम्ममद स्याहिर स्यामिलले १२ रन बनाए । अन्य कुनै ब्याटर दोहोरो अंक बनाउन क्रिजमा टिक्न पाएनन् ।

नेपालका लागि स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४।३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए ।

मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १ विकेट लिए ।

नेपालका लागि यो लगातार चौथो जित हो । अब नेपालले पाँचौं र अन्तिम खेल हालसम्मकै बलियो प्रतिस्पर्धी मानिएको यूएईसँग बिहीबार खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्